शुक्रबार मात्र चलचित्र रिलिज गर्ने परम्परा पछिल्लो समय भताभुङ्ग हुँदै गएको छ । केही चलचित्रलाई निर्माता संघले सार्वजनिक विदाको दिन प्रदर्शन गर्न दिएपछि अहिले त्यसैलाई टेकेर निर्माताहरुले बिहिबार नै चलचित्र रिलिज गर्दै आइरहेका छन् । पुष २८ गते पनि यस्तै हुने भएको छ ।
निर्माता माधव वाग्लले आफ्नो चलचित्र ‘लभ सासा’ पुष २८ गते बिहिबार रिलिज गर्ने घोषणा गरेको केही दिन नवित्दै पुष २९ गते प्रदर्शनमा आउन लागेको निखिल उप्रेती स्टारर चलचित्र ‘किङ’ पनि एकदिन अघि सर्दै पुष २८ गते बिहिबार नै प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘लभ साशा’ ले आफ्नो प्रदर्शन मिति एक दिन अगाडी सारेको हुनाले पनि ‘किङ’ ले पुष २८ गते आफ्नो प्रदर्शन सुरु गर्न लागेको हो । अब पुष २८ गते बिहिबार कर्मा र केकी अधिकारी अभिनित चलचित्र ‘लभ साशा’ र निखिल उप्रेती अभिनित चलचित्र ‘किङ’ एकसाथ हलमा लाग्नेछन् । निर्माणपक्षले ‘किङ’ को दोस्रो ट्रेलर सार्वजनिक गर्दै पुष २८ गते बिहिबारबाट देशव्यापी प्रदर्शनमा आउने औपचारिक जानकारी दिएको हो ।
त्यस्तै पुष २९ गते शुक्रबार प्रदर्शनमा आउन लागेको सौगात मल्ल स्टारर चलचित्र ‘शब्द’ ले पनि पुष २८ गते बिहिबार नै आफ्नो प्रदर्शन आरम्भ गर्ने तयारी थालेको छ । दुई चलचित्रले बिहिबार नै आफ्नो प्रदर्शन आरम्भ गर्न लागेका कारण चलचित्र ‘शब्द’ ले पनि पुष २८ गतेबाट आफ्नो प्रदर्शन आरम्भ गर्न सक्ने स्रोतले बताएको छ । यदी यसो भयो भने पुष २८ गते तीन नेपाली चलचित्रको लडाइँ हेर्न लायककै हुनेछ ।