हास्यविधामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आदर्श जोडीको रुपमा हेरिन्छ । लामो समयदेखी विभिन्न आरोह अवरोहमा सँगै रहेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यपनि एक समय फुटको संघारमा थिए । हरिवंश आचार्यले केही बर्ष अगाडी एक चलचित्र आफैंले लेखेका थिए जुन कुरा मदनकृष्ण श्रेष्ठलाई अपाच्य भयो । किनकी त्यसभन्दा अगाडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले सँगै चलचित्रको कथा लेख्ने गर्थे । तर हरिवंश अचार्यले एक चलचित्रको कथा आफै लेखेपछि मदनकृष्णसँगको सम्बन्धमा दरार आएको हरिवंशले आफ्नो पुस्तक ‘चिना हराएको मान्छे’ मा पनि लेखेका छन् । हरिवंशसँग सम्बन्ध खराब चलेपछि मदनकृष्ण श्रेष्ठले हरिवंश आचार्यसँग सम्बन्ध नै तोडेर नेपाल टेलिभिजनमा एक सिरियल प्रशारण गरे । तर उनीहरुको मनमुटाब धेरै बर्ष टिक्न सकेन। अन्नत हरिवंश आचार्यले आफ्नो गल्ती देखेपछि मदनकृष्ण श्रेष्ठसँग माफी मागे । त्यसपछि भने अहिलेसम्म यो जोडीको विषयमा कुनै पनि नकारात्मक खबरहरु बाहिर आएका छैनन् ।
त्यस्तै केही बर्ष देखी हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा) बिच पनि आन्तरिक द्धन्द्ध चलेको छ । गाईजात्रा संग्रह लिएर हास्यविधामा प्रवेश गरेका केसी जोडीले केही समयको अन्तरालमै नेपाल टेलिभिजनबाट ‘मेरी बास्सै’ नामक टेलिश्रृखला निर्माण गरे । तर आन्तरिक व्यबस्थापन मिलाउन नसक्दा एउटै टेलिश्रृखलामा अभिनय गरेता पनि पछिल्लो समय उनीहरु सँगै पर्दामा भने कहिले देखिएनन् । सिताराम कट्टेलले एकलौटी रुपमा मेरी बास्सैमा हाबी हुन खोजेका कारण केदारले उक्त सिरियल छोडेको बताइन्छ । अहिले सार्वजनिक कार्यक्रममा भेट्दा मिडियाहरुको अगाडी मित्रता देखाएपनि केदार र सिताराम कट्टेलको भित्री सम्बन्ध खासै राम्रो देख्न सकिएको छैन ।
यही बिच हास्य कलाकार जितु नेपाल र दमन रुपाखेतीको सम्बन्ध पनि केही बर्ष अगाडीसम्म पानीबाराबारको अबस्थामा थियो । हास्यटेलिश्रृखला ‘जिरे खुसार्नी’ मा काम गर्ने क्रममा जितुसँग मनमुटाब भएपछि दमनले ‘जिरे खोसार्नी’ नै छोडेका थिए । केही बर्षसम्म सम्बन्ध खराब चल्दै गर्दा अब भने यो जोडी पुन एकसाथ स्टेजमा उत्रने भएको छ । ‘जिरे खुसार्नी’ छोडेको दश बर्षपछि अब दमन र जितुले यस बर्षको गाई जात्रामा सँगै काम गर्न लागेका हुन् । आइतबार मित्रता दिवसको अवसर पारेर जितुले दमनसँगको फोटो सेयर गर्दै यस बर्षको गाईजात्रामा सँगै देखिन लागेको बताएका छन् ।
त्यस्तै ‘तितो सत्य’का चर्चित कलाकार दीपकराज गिरी र रवी डंगोलबिच पनि सम्बम्ध सुमधुर हुन नसकेको देखिन्छ । तितो सत्य निर्माणकै क्रममा उनीहरु बिच मनमुटाब भएको थियो त्यसछि रवी डंगोलले सिरियल नै छोडेका थिए । नेपाल टेलिभिजनबाट ‘तितो सत्य’ नै प्रशारण हुन बन्द भएपछि अहिले भने उनीहरुको सम्बन्ध केही सुध्रिएको अडकल काट्न सकिन्छ ।