कहिले बर्षमा एक फिल्म पनि रिलिज नभएर तनाब, कहिले हप्ता ननाघ्दै एकपछि अर्को फिल्म रिलिज हुँदा पनि एउटा कलाकारलाई कम्ता तनाब हुन्न । आफु अभिनित फिल्म बर्षमा एउटा पनि रिलिज नहुँदा कतै करियर नै पो सखाप भएन भन्ने खाल्का हल्लाहरुले जति तनाब एउटा कलाकारलाई दिन्छ त्यो भन्दा बढी तनाब त हप्ता ननाघ्दै आफु अभिनित फिल्महरु एकपछि अर्को हलमा लाग्दा हुन्छ । अहिले यस्तै टेन्सनमा छन् नायक कर्मा ।
यस बर्ष उनी अभिनित कुनै पनि फिल्महरु प्रदर्शनमा आएका छैनन् तर आउन लागेका दुई फिल्म नै ५ दिनको अन्तरमा यही पुषमा लाग्दैछन् । यसले निर्माताको मात्र निन्द्रा उडाएको छैन कर्माको पनि भोक-निन्द्रा हराएको छ । अहिले कर्मा कुन फिल्मको प्रचारमा हिँड्ने र कुन फिल्मका लागि समय छुट्याउने अन्योलमा छन् । कर्मा अभिनित फिल्म ‘भ्रम’ यही पुष २२ गते प्रदर्शनमा आउँदैछ भने अर्को फिल्म ‘लभ साशा’ पुष २८ गते । यी दुवै फिल्ममा कर्माको मुख्य भूमिका छ ।५ दिनको अन्तरमा प्रदर्शन हुन लागेका यी दुवै फिल्मको प्रचारमा कर्मा दौडिरहेका छन् तर अब दुवै फिल्मको रिलिज मिति नजिकदै गर्दा अहिले उनलाई तनाब माथी तनाब थपिएको छ । निर्माताबीचको व्यावसायिक द्वन्द्वले अहिले उनी मानसिक द्वन्द्वमा परेका छन्। पक्कै पनि हो, आफु अभिनित एउटा फिल्मबाट राम्रो रेस्पोन्स आएन भने अर्को फिल्मलाई असर गर्छ र अहिले कर्मालाई पनि यही डर छ । यी दुवै फिल्ममा उतिक्कै मेहेनत गरेका कारण दर्शकहरुले दुवै फिल्मलाई मनपराउनेमा कर्मा विश्वस्त छन् तर पनि ‘के हुने हो ?’ भन्ने डरले चाहिँ अहिले उनको भोक-निन्द्रा सबै उडाएको छ ।
हप्ता ननाघ्दै आफु अभिनित दुई फिल्म हलमा लाग्नु कर्माका लागि पनि सुखद होइन तर निर्माताबीचको व्यावसायिक द्वन्द्वको अगाडी कर्मा निरही बनाएको छ । अब यो त केही दिनमा नै थाहा हुनेछ कि यी दुई फिल्म मध्ये कसले कर्मालाई सफलताको सिढी चढ्न मद्दत गर्नेछ । प्रचारको हिसाबले हेर्ने हो भने अहिले ‘भ्रम’ भन्दा ‘लभ साशा’ को चर्चा सिनेवृतमा बढी छ तर यसको असर व्यापारमा पर्छ वा पर्दैन त्यो हेर्न भने केही दिन पर्खनै पर्ला ।