त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘ह्याप्पी डेज’ को छायाँकन लण्डनमा सकिएको छ । प्रियंका कार्की, दयाहाङ राई, सञ्जय गुप्ता लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘ह्याप्पी डेज’ को सम्पूर्ण छायाँकन लण्डनका विभिन्न स्थानहरुमा गरिएको हो । ४५ दिन लामो सुटिङ सकाएर चलचित्रका कलाकारदेखी प्राविधिकहरु नेपाल फर्किएका छन् तर नायिका प्रियंका कार्की भने लण्डनबाट सिधै न्यूयोर्क उडेकी छिन् । चलचित्र ‘ह्याप्पी डेज’ को छायाँकन सकिए लगत्तै निर्माणपक्षले केही एक्सक्लुसिभ तस्बिरहरु पनि सार्वजनिक गरेको छ ।
‘सिनेखबर डटकम’ लाई प्राप्त तस्बिरहरुमा कतै प्रियंका कार्की नायक दयाहाङ राईको अँगालोमा कसिएकी छिन् त कतै अर्का नायक सञ्जय गुप्ताको अँगालोमा छिन् । तस्बिरबाट यो चाहिँ स्पष्ट हुन्छ कि प्रियंका कार्कीले चलचित्र ह्याप्पी डेजमा दुई नायकसँग रोमान्स गरेकी छिन् ।
यो चलचित्रमा प्रियंका, दयाहाङ र सञ्जयका अलवा विक्की जोशी, मोनिका गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । कमेडी र सोसल ड्रामामा तयार भएको यो चलचित्रको बजेट १ करोड ७० लाख रहेको छ । यो चलचित्रमा नायिका प्रियंका कार्कीले यूकेमा बस्ने एक यूवतीको भुमिका निर्वाहा गरेकी छिन् ।यूके आइडी होल्डर केटीको प्रेममा दुई नेपाली युवा पर्छन्। पढ्दै पैसा कमाउने उद्देश्यले विदेशिएकाहरु प्रेममा परेपछि सिर्जना हुने अवस्था नै चलचित्रको विषय हो। चलचित्र ‘ह्याप्पी डेज’ मा तारा प्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको द्धन्द्ध, रामकुमार केसी र कोलिन पिकक् को छायाँकन, अर्जुन जिसीको सम्पादन, गिरीराज घिमिरेको सह–निर्देशन रहेको छ । यो चलचित्र २०१७ को अप्रिलमा प्रदर्शन हुन सक्ने निर्देशक मिलन चाम्सले जानकारी दिए ।