तीस बर्षअघि दिवश घलेले धरान पञ्चायतमा कृष्णकुमार राईलाई प्रधानपञ्चका रुपमा देखेका थिए र उनले कतिचोटी उनै कृष्णकुमारलाई केही आशाले पच्छ्याएका पनि थिए । प्रधानपञ्चमात्र होईन मन्त्री समेत हुँदा पनि दिवश घलेले उनलाई नपछ्याएका होईनन । ‘तर के गर्नु गरिबको छोरो परियो कसैले केही सघाउलान भन्ने नलागेकैले आफ्नै बाबु बाजेले अङ्गालेको सिलाई काम नै थाले’, दिवशले भने ।
धरानको भानुचोक क्षेत्रको सडक पेटी रुँगेर बितिसक्यो दिवशको जीवनका ३२ वर्ष । उनको दायाँबायाँ दुई वटा सिलाई मेशिन छन । एउटामा उनी आफै कपडा सिलाई गर्छन भने अर्को एउटामा कहिले छोरो सागरले सिलाईको काम गर्छ कहिले श्रीमतीले । अहिले पनि कृष्णकुमार राई ठूलै मान्छे भएका छन । ‘तर खोई कसले हेर्दो रहेछ निमुखा गरिवलाई हजुर’ दिवशले निराश भएर भने ।
पञ्चायतले गरिवलाई केही दिँदैन । यो ब्यवस्था फ्याक्नै पर्छ भनेर धेरैले भने अनि आन्दोलनमा लुकि लुकि काम पनि गरे दिवसले । हेर्दा हेर्दै हिजो प्रधानपञ्च भएका कृष्णकुमार राई मन्त्री बनेर अहिले सांसद छन् । ‘तर हामी यी सडक पेटीमा बस्नेको जीवन भने उहीँ हो पेटीको पेटीमा नै गुज्रिएको गुज्रियै छ । कति आन्दोलन भयो । अहिले त यस्तो लाग्छ यो भानुचोक क्षेत्रमा आन्दोलन र बन्द गरेर हाम्रो रोजीरोटी खोस्न आउनेहरुलाई नै हेर्दा पनि त्यसै त्यसै रिस पो उठेर आउँछ’ दिवशले भने ।
विभिन्न वहानाबाजीमा आन्दोलन भई रहने अनि बन्द हड्तालको केन्द्र बनिरहेने धरानको भानुचोक क्षेत्रमा जहिले पनि आन्दोलन नै भई रहन्छ । तर सिलाई गरेर यसो दुई चार पैसा हात लाग्ने पेशा नै यस्ता आन्दोलनकै कारणले भड्खालोमा परिरहन्छ । दिवशले गुनासो गर्दै भने ‘हामी गरिवको चाहि कहिले दिन फिर्ला भनेको त अँ हँ मैले त कहिले पनि त्यस्तो राम्रो दिन आउला भन्ने त पिटिक्कै सोच्न सम्म सकेको छैन ।’
दिवशसँगै मास्तिरपट्टी सिलाई मेशिनमा कुँहिनो टेकाएर कुरा सुनिरहेका अर्का रमेश सुन्दासले पनि सहि थाप्दै भने ‘यो देश सतिले सरापेको रे अनि राम्रो काम त कहाँ हुन्छ र हजुर ? ’ ।
उनका छोरा अजयले एसएलसी पास गरिसकेको छ । छोरी अनिशा कक्षा ६ मा पढ्दैछे । ‘के गर्नु ती केटोकेटीका लागि नै यी हामी बुढाबुढी नै दिनरात यही कल लिएर सिलाई पेशा गरेर परिवार चलाउँदैछौ नि’ रमेशले भने । उनको श्रीमती सम्झनाले पनि रमेशलाई दिनरात सघाउँदै आएकी छिन । धरान बजारदेखि अलिक मास्तिर विजयपुर ढाँडोमुनि दुईधारेको भित्तो भृकुटी पाखोमा छाप्रो बनाएर बस्दै आएका उनीहरुका लागि जस्तोसुकै परिवर्तन आए पनि अहोरात्र सिलाई मेशिनसँग खेल्नु बाहेक अरु केही परिवर्तनले छुने छाँटकाँट अगाडी आएको छैन भन्छन ।
अहिले पछिल्लो समयमा भानुचोक क्षेत्रमा हुने परिवर्तनका आन्दोलनहरु उनीहरुका लािग घाँडो बन्छ अर्थात ती आन्दोलनकारीहरु आफ्नो रोजीरोटीमा लात मार्ने दुष्मनका रुपमा हेनु पर्ने बाध्यतात्मक अवस्थामा पुगेको उनीहरुको भनाई रहेको छ । पञ्चायत गयो प्रजातन्त्र आयो अनि लोकतन्त्र हुँदै गणतन्त्र आयो रे । तर खोई नेपाली गरिव निमुखा जनताका लागि कसले के ल्याए न प्रजातन्त्रले दियो न त गणतन्त्रले केही परिवर्तन दियो । केवल झन गरिवी पीडा र बेथिति बाहेक अरु केही पनि पाएनौ हामीले भानुचोकका पेटीका ब्यवसायीहरुको साझा प्रश्न हो यो ।-सरल पत्रिका