दर्जनौं नेपाली चलचित्रसँगै आधुनिक गीतहरुमा आवाज भरिसकेकी नेपाली गायिका देविका बन्दनाले पहिलो पटक हिन्दी गीतमा आफ्नो स्वर दिएकी छिन् । भारतको प्रतिष्ठित जी म्युजिकले उत्पादन गरेको ‘बस तेरा नाम’ बोलको गीतमा देविका बन्दना र बलीउडका गायक कुनाल गञ्जावालाको स्वर रहेको छ । यो गीतको भिडियो पनि जी म्युजिकले युटयुबमा सार्वजनिक गरिसकेको छ । भारतमै बसेर गीत रचना र संगीत निर्देशनको काम गर्दै आएका युग भुसालमार्फत जी म्युजिक कम्पनीको सम्पर्कमा पुगेकी गायिका देविका बन्दनाले भुसालद्वारा रचना गरिएको ‘बस तेरा नाम’ गीत गाएकी हुन् ।
यो गीतको म्युजिक भिडियो नेपालकै विभिन्न मनोरम स्थलमा छायांकन गरिएको छ। विजेश पौडेलले निर्देशन गरेको म्युजिक भिडियो जोमसोम, मार्फा, कागवेनीजस्ता मनोरम तथा आकर्षक स्थानमा प्रमोद कार्कीद्वारा खिचिएको म्युजिक भिडियोको सम्पादन भने मुम्बईमै गरिएको हो । उक्त गीतमा मोडलहरुलाई सन्तोषी श्रेष्ठले ड्रेस डिजाइन गरेकी हुन ।
यो गीतमा देविकाको स्वर मन पराएर उनलाई बलीउडको अर्को म्यूजिक कम्पनीले नयाँ गीतका लागि समेत अफर गरेको छ । दोस्रो हिन्दी गीतको देविकाले रेकर्ड समेत गराइसकेकी छिन् ।