अहिले चौक, गल्ली, सडक, चिया पसलदेखी जताततै एउटै गीतको चर्चा छ, ‘साइली’ । परदेश गएका श्रीमान र गाउँमा बसेकी श्रीमतीबीचको प्रेमलाई मर्मस्पर्शी ढंगबाट प्रस्तुत गरिएको ‘साइली’ गीतले अहिले सारा नेपालीलाई रुवाएको छ । अझ बैदेशिक रोजगारीमा गएका नेपालीहरुको त सिंगो व्यथा नै गीतमा उतारिएको छ, जस कारण पनि ‘साइली’ ले नेपाली बजारमा मात्र होइन खाडी मुलुकमा समेत धुम मच्चाइरहेको छ । युटयुबमा अपलोड गरेको एक हप्तामा यो गीत हेर्नेको संख्या ३७ लाख भन्दा बढी भइसकेको छ भने अडियो मात्र २५ लाख भन्दा बढीले हेरिसकेका छन् । यो गीतले गायक हेमन्त रानालाई पनि चर्चित गायकको सूचीमा समेत उभ्याएको छ । अडियो र भिडियोले तहल्का पिटेपछि शनिबार गायक हेमन्त रानाले ‘साइली’ एल्बम सार्वजनिक गरेका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै युटयुबमा भाइरल भएको साइली गीतको एल्बम सार्वजनिक गरिएको हो । गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको गीतमा काली प्रसाद बाँस्कोटाको शब्द र संगीत रहेको छ । कार्यक्रममा गीतका मोडल गौरव पहारी र गायक हेमन्त रानाले संचालनमा ल्याएको जीएच इन्टरटेनमेन्टको पनि औपचारिक घोषणा गरिएको थियो ।
एल्बम विमोचन कार्यक्रममा गीतका मोडल गौरव पहारीले ‘साइली’ नाममा नेपाली चलचित्र निर्माण गर्ने समेत घोषणा गरे । उनले गीत तयार पार्दै गर्दा नै ‘साइली’ माथी चलचित्र निर्माण गर्ने सोच बनाएको बताए । चलचित्रको मुख्य भूमिकामा गीतका गौरव पहारी र मेनुका प्रधान नै हुन्छन् वा हुँदैनन् त्यो भने खुलाइएको छैन ।