सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, श्रृष्टी श्रेष्ठको मुख्द्यय भूमिका रहेको चलचित्र ‘लालपुर्जा’ निर्माताबीच मनमुटाब सुरु भएको छ । शुक्रबार यसको खुलासा भएको हो । चलचित्र ‘लालपुर्जा’ को लगानीमा साझेदारी गर्ने निर्णय भएको थियो ‘लुट’ निर्माता माधव वाग्ले र ‘झोले’ निर्माता टेकेन खड्काबीच । तर, निर्माता वाग्लेले ‘लालपुर्जा’ निर्माणका लागि साढे ३ लाखभन्दा बढी दिन नखोजेको आरोप निर्माता टेकेनले लगाएका छन् । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै टेकेनले भने, ‘वाग्ले र मैले लालपुर्जामा ५०-५० प्रतिशत लगानी गर्ने सम्झौता भएको थियो । तर उहाँले साढे ३ लाखभन्दा बढी दिन तयार हुनु भएन । त्यसैले हामीले ‘लालपुर्जा’ को निर्माताबाट उहाँलाई हटाएका छौं ।’ पत्रकार सम्मेलनमा निर्माता खड्का, निर्देशक निगम श्रेष्ठ, कार्यकारी निर्माता विक्रम सिंह, हाइलाइट्स नेपालका ओम गुरुङ र पपकर्न मुभिजका अध्यक्ष विश्व गौचन पनि उपस्थित थिए ।
टेकेनले फेरी थप्दै भने, ‘उहाँले हामीलाई पटक पटक धोका दिनु भयो । जसकारण दोस्रो चरणको पोस्ट प्रोडक्सन पनि रोकिएको छ । हामीले उहाँसँग धेरै पटक चलचित्र निर्माणका लागि पैसा माग्यौं तर उहाँ दिन तयार नै हुनुभएन । त्यही भएर ‘लालपुर्जा’ को बाँकी काम पनि अगाडी बढ्न पाएको छैन ।’
मंगलबार मात्र अमेरिका उडेका वाग्लेले ‘लालपुर्जा’ को निर्माताबाट आफुलाई हटाइदिए हुने भन्दै जवाफ फर्काएका निर्माता टेकेनले पत्रकारमाझ बताए । यो चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन ।
त्यस्तै, पत्रकार सम्मेलनमा बोल्दै हाइलाइट्स नेपालका अध्यक्ष ओम गुरुङले भने, ‘मैले अन्तर्राष्ट्रिय वितरणको अधिकारबापत माधव वाग्लेलाई ३५ लाख रुपैयाँ एडभान्सको रुपमा दिएको थिएँ तर, उहाँले साथीहरूलाई ३० लाख मात्र आएको बताउनुभएछ । यसले निर्माता टेकेन खड्का र मबीचमा समेत अफ्ठ्यारो बनाएको छ ।’ निर्माता टेकेनले चलचित्रको निर्माताबाट माधव वाग्लेलाई हटाएको निर्णय गरेपनि अहिलेसम्म माधव वाग्लेले भने औपचारिक रुपमा आफु ‘लालपुर्जा’ को निर्माताबाट हटेको वा नहटेको विषयमा कुनै जानकारी दिएका छैनन् । अब यसको पृष्टि त निर्माता वाग्ले नेपाल आएपछि मात्र हुनेछ ।
यो चलचित्रको अहिले सम्पादनको कार्य भैरहेको छ ।