काठमाडौँ । साङ्गीतिक माध्यमबाट सामाजिक सेवामा समर्पित गायक हुन्, हेमन मोक्तान । उनै गायकले आफ्नो संस्था हेमन मोक्तान फाउण्डेशनमार्फत् अध्यारोबाट उज्यालोतिरको यात्रा शिक्षाका लागि साङ्गीतिक अभियानको थालनी गरेका छन् ।
अभियानअन्तर्गत हेमनले सिन्धुलीको सुनकोशी गाउँपालिका– १ दुम्जास्थित देवीस्थान माध्यमिक विद्यालयमा १० थान कम्प्युटर प्रदान गरेका छन् । कम्प्युटर ल्याबको उद्घाटन एयुईस्थित नेपाली व्यवसायी तथा समाजसेवी उमेशकुमार न्यौपानेले हालै शुभारम्भ गरे ।
केही समय अघि युएईको एक महिने साङ्गीतिक अभियान सम्पन्न गरेर नेपाल फर्किएका हेमनले अभियानमा सङ्कलित रकमबाट विद्यालयलाई कम्प्युटर सहयोग गरिएको बताए ।
कार्यक्रममा दुवई बिजनेश काउन्सिलका उपसभापति उमेशकुमार न्यौपाने, मानव जीवन संरक्षण मञ्चका सचिव रिना शाही, हेमन मोक्तान फाउण्डेशनका अध्यक्ष हेमन मोक्तानले बालबालिकाको शिक्षाका लागि साङ्गीतिक अभियान गरी सहयोग जुटाउने अवसरका लागि सबैमा धन्यवाद दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइरालाले शिक्षाको क्षेत्रमा सिन्धुलीमै नमूना विद्यालयको रुपमा देवीस्थानले सफलता प्राप्त गरिरहेको बताए । विद्यालयले १५ वर्षदेखि सिन्धुलीका साथै काभ्रे र रामेछाप जिल्लाका बालबालिकालाई अङ्ग्रेजी माध्यममा शिक्षा दिँदै आएको छ । कार्यक्रममा गायक हेमन मोक्तान र नारायण थापाले गीत प्रस्तुत गर्दा विद्यालयका बालबालिकाले नृत्य देखाए ।