बर्ष २०७१ को सफल फिल्मको सुचीमा पर्छ फिल्म ‘प्रेमगीत’ । तर यो फिल्म रिलिजसँगै निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापाबीच दुरी बढ्यो । सेन र थापा दुई धारमा बाँडिए । शित युद्ध राम्रै चल्यो जुन अहिलेसम्म पनि कायम छ ।
यो बीचमा उक्त प्रोजेक्टपछि निर्माता सेन ‘प्रेमगीत २’ बनाउनमा जुटे उक्त फिल्म श्रावण १३ मा आउँदैछ भने निर्देशन थापाले सोहि फिल्मको हिट टाईटल गीत ‘म यस्तो गीत गाउँछु’को नाम सापटी लिएर फिल्म बनाए । यो फिल्म पनि असार ३० मा रिलिज हुँदैछ ।
शुक्रबार थापाको फिल्मको ट्रेलर सार्वजनिक गरियो । तर कार्यक्रममा ‘म यस्तो गीत गाउँछु’को जत्तिकै जस्तो ‘प्रेमगीत’को पनि चर्चा भयो । सुरुमै कार्यक्रम प्रस्तोता नरेश भट्टराईले टिम परिचय गराउँदा नै संगीतकार अर्जुन पोखरेलसँगै गायक सुगम पोखरेललाई प्रेमगीतसँग जोडेर चिनाए, उक्त फिल्मको ‘म यस्तो गीत गाउँछु’ बोलको गीतमा संगीत र स्वर क्रमशःअर्जुन र सुगमले भरेका थिए ।
सोहि कार्यक्रममा निर्देशक थापाले ‘प्रेमगीत’ बिर्सेनन् भने अभिनेत्री पूजाले पनि प्रेमगीतको चर्चा गरिन् । मिडियाकर्मीले पनि प्रश्न तेर्साउँदा पटक पटक प्रेमगीत जोडे, जसको जवाफ पूजाले दिईरहिन् । उता अनौपचारिक गफमा अभिनेता पल शाहले पनि ‘प्रेमगीत’ टिमसँग आफ्नो कुनै दुश्मनी नरहेको बोले । निर्देशक थापाले त घुमाउरो पारामा प्रतिस्पर्धी मानिएका फिल्मलाई भन्दै ‘प्रेमगीत’लाई पनि सफलताको सुभकामना दिए ।