मुम्बई(एजेन्सी) । बक्स अफिसमा आफ्नो फिल्म ‘ट्युबलाइट’माथि गरिएको रुखो व्यवहार र अर्का खान अभिनेता शाहरुख खानको हाल प्रदर्शित फिल्म ‘जब ह्यारी मेट सेजल’को कमजोर व्यापार देखेका अभिनेता सलमान खान अब कस्तो काम गर्ने भन्ने निचोडमा पुगिसकेका छन् । बलिउडका यी दुई ठूला स्टारले अब आफ्नो करियरको बारेमा सोच्ने दिन आएको जानकारहरुले बताइरहँदा सलमानले चाहिँ अब मसलेदार फिल्ममा अभिनयको रुची देखाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सलमान हालका दिनमा केही मसलेदार पैसा असुल्ने किसिमको फिल्मको खोजीमा छन् । यो खोजीमा रहँदा उनले फिल्म ‘रेस ३’लाई भेटेका छन् । फिल्मको तेस्रो संस्करणलाई निर्माता रमेश तौरानीले चार वर्षपछि लिएर आउँदैछन् ।
यो फिल्ममा सलमानलाई निर्माता रमेशले एउटा सर्तमा फिल्ममा खेलाउने संकेत दिएका छन् । डान्सिङ प्याटर्नको फिल्म ‘एबीसीडी’ बनाएका रेमो डिसूजाले यो फिल्मको निर्देशन गर्ने शर्त राखेपछि सलमानले त्यसलाई हाँसीहाँसी स्वीकारेका छन् । अब सलमानको फिल्मी करियर मसलेदार फिल्मले उकास्छ या उकास्दैन त्यो चाहिँ हेर्न बाँकी नै छ ।