नायक राजेश हमाल उत्कृष्ट चलचित्र भन्दा पनि संख्या बढाउनका लागि चलचित्र खेल्ने गरेको आरोप बेला बखतमा राम्रैसँग लाग्ने गर्छ । नायक हमाल चलचित्र खेलेपछि प्रचारमा नहिँड्ने बानीले गर्दापनि पछिल्लो समय निर्माताहरु वाक्कदिक्क भएको देख्न सकिन्छ । चलचित्र खेलेपछि प्रचारमा हिँड्ने बेला हमालले मोवाइलसम्म स्विच अफ गरेर राख्ने बानी रहेको केही पुराना निर्माताहरु बताउँछन् । हुन पनि हो उनी चलचित्र खेलेपछि चलचित्रको प्रचारका लागि भन्दै खासै समय छुट्याएको पाइदैन । भइहाल्यो भने केही पत्रकार सम्मेलनमा सहभागी भएपनि चलचित्रको प्रचारकै लागि भनेर हमाल काही कतै हिँडेको अहिलेसम्म देखिएको छैन । यही हमालको बानीले गर्दा अहिले ‘शकुन्तला’ यूनिट तनाबमा देखिएको छ ।
भदौं १० गते रिलिज हुन लागेको चलचित्र ‘शकुन्तला’मा नायक राजेश हमालको प्रमुख भुमिका रहेको छ । पहिलो पटक चलचित्रमा तेस्रो लिंगी भएर अभिनय गरेका हमालले यो चलचित्रलाई अहिले बेवास्ता गरेको सजिलै अनुमान लगाउन सकिन्छ । चलचित्रको आधिकारीक निर्माण घोषणा कार्यक्रममा देखिएपछि नायक हमालले चलचित्र शकुन्तलाको छायाँकन सकाए । त्यसपछि भने उनीले न मिडियासँग चलचित्रको विषयमा कुनै जानकारी दिएका छन् न चलचित्रको प्रचारका लागि भनेर नै कुनै समय छुट्याएका छन् । प्रदर्शन मिति नजिकँदै गर्दा फेरी हमालले शकुन्तला यूनिटलाई अर्को धोका दिएका छन् । त्यो हो हमाल अमेरिका उड्नु ।
हमाल वुधबार चलचित्र शकुन्तलाको प्रचार प्रसारलाई लत्याउँदै अमेरिका उडेका छन् । हमालले चलचित्रका लागि भनेर समय नछुट्याएपछि अहिले निर्माणपक्ष तनाबमा देखिएको छ । हमालले चलचित्रलाई बेवास्ता गरेर अमेरिका उड्नुले निर्माणपक्षलाई घाटा हुने निश्चित छ । अब हमालले सामाजिक सञ्जालबाट शकुन्तलाको प्रचार गरे मात्र हो नभए अब उनी चलचित्रको प्रचारका लागि भन्दै नेपाल आउने अबस्था छैन । हमाल एक्कासी अमेरिका उडेपछि अब निर्माणपक्षले आफ्नै किसिमबाट प्रचार थाल्ने तयारीमा जुटेको छ । दिनेश् श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा राजेशसँगै किशोर खतिवडाको प्रमुख भुमिका रहेको छ ।