प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतको रुपमा भारत भ्रमणका रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरे । यही विषयमा हास्यकलाकार मनोज गजुरेलले आफ्नो आधिकारीक बेवसाइट (‘गजुरियल डटकम’) मा ‘मोदीभन्दा निधि धनी !’(फोटोलोजिष्टहरु) भन्दै समाचार शैलीमा व्यङ्ग्य गरेका छन् ।
पढ्नुहोस् मनोज गजुरेलले यसरी गरेका छन् समाचार शैलीमा विमलेन्द्र निधि र नरेन्द्र मोदीलाई व्यांग्य :-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीभन्दा नेपाली उपप्रधानमन्त्री बिमलेन्द्र निधि निकै धनी भएको प्रमाण प्राप्त भएको छ । आज नयाँ दिल्लीस्थित सेभन रेस कोर्समा सम्पन्न दुई पक्षिय भेटघाटपछी उक्त तथ्य बाहिर आएको हो । एजेन्सीले सार्बजनिक गरेको तस्बिर अनुसार, मोदीको नाडी खाली छ भने निधिको नाडीमा महँगो घडी देखिन्छ । घडी बिनाको नाडीले मोदी गरिबिको रेखाभन्दा तल रहेको देखाउँछ भने निधिको घडिले सम्पन्नताको संकेत गर्दछ ।
त्यसैगरी, मोदीको तुलनामा निधि बढि नै लेखपढमा सकृय देखिन्छन् । तस्बिरमा निधिको खल्तिमा पाईलट पेन देखिन्छ भने मोदीको कोटमा खल्ती नै छैन । पत्रकार ऋषि धमलाले आश्चार्य प्रकट गर्दै भने, ‘साथमा डटपेनपनि नबोक्ने मोदीले ट्वीटर कसरी चलाउँछ्न होला !’
फोटोलोजीमा पिएचडि गरेका ड.प्रेम पथिक भन्छन्,‘मोदी दिन खोज्ने तर निधि लिन नमान्ने खालका रहेछ्न ।’ उनको संकेत हात बाँधेर बसेका निधि र खुला हातमा रहेका मोदी तर्फ थियो । ‘नेपाली उप(प्रधानमन्त्री निधि अग्रगामी र भारतिय प्रधानमन्त्री मोदी परम्पराबादी देखिन्छ्न ।’ शुद्ध भारतीय पहिरनका मोदी र बिशुद्द बेलायती शुटका निधिलाई संकेत गर्दै विश्लेषकहरुले बताए ।
शुद्ध कालो दारीका निधि र शुद्ध सेतो दारीमा देखिएका मोदीको ‘दारी मात्रा’ भने बराबरी देखिन्छ । निधि चस्मा बिना छन् भने मोदीले सेतो पावरवाला चस्मा लगाएकाछन् । ‘पावरको गडबडीले गर्दा नेपाललाई हेर्ने दृष्टिकोणमा हडबडी आएको रहेछ, अब ठिक हुन्छ होला ।’ दिल्लीबाट ऋषि धमलाले गजुरियल डटकमलाई बताएनन् ।