गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘२ रुपैयाँ’ आज बिहिबार दर्शकको लागी रु .२ मा फिल्म हेर्ने अवसर प्रदान गरेको थियो। फिल्मको नाम सरह नै ‘२ रुपैयाँ’लाई केन्द्रबिन्दु बनाएर चलचित्र निर्माण कम्पनि ‘जि टु वान पिक्चर्स’ले रू. २ मा नै दर्शकहरूलाई फिल्म देखाएको हो।
बिहीबार दिउँसो कमलपोखरीको कुमारी हलमा १२ः३० बजेको शोको टिकट रू. २ मा नै पहिलो १०० जनालाई दिने प्रावधान गरिएको थियो। तर दर्शकको अत्याधिक चापको कारण ५० टिकट थप गर्नु परेको निर्देशक असिम शाहले जानकारी दिए। त्यस्तै, बिहान ११ बजेबाट खोलिएको टिकट काउन्टरको लागी दर्शकहरु हलमा ७ बजेबाट नै लाइनमा बसेको कुमारी हल व्यवस्थापक बिनोद पौडेलले बताए।
हलमा दर्शको चाप देखेका असिम शाहले भने ‘हामीले चलचित्रको नाम २ रुपैयाँ राखेदेखि नै साथी–भाइहरूले ’२ रुपैयाँमा नै चलचित्र देखाउने होला नि’ भन्नुहुन्थ्यो। फिल्म प्रदर्शन भएको १ हप्ता नपुग्दै हामीले साँच्चै नै यो योजना ल्याउन सफल भयौँ।’ ‘हामीलाई आज दर्शकहरूको यो उत्साहले नै सफलताको पूर्ण आभाष दिएको छ,’ उनले थपे।
कुमारी हलमा दर्शकहरूसँग अन्तरक्रिया गर्न निर्देशक असिम शाह र कलाकार बुद्धि तामाङ हलमा पुगेका थिए। हलमा ‘२ रुपैयाँ’का कलाकार बुद्धि तामाङको क्रेज देख्न सकिन्थ्यो।