नेपालमा प्रत्येक बर्ष झण्डै दर्जन बढी अवार्ड कार्यक्रमहरु आयोजना हुने गर्छन । तर अहिलेसम्म कुनै पनि अवार्डहरु निपक्ष्य रहन नसकेको सबैले देख्दै आइरहेका छौ । राष्ट्रिय चलचित्र पुरस्कार भन्दा बाहेक अन्य निजी संस्थाहरुले आयोजना गर्ने अवार्डहरु बढी जसो विवादित बनिरहेका हुन्छन् र बनिरहेका पनि छन् । पछिल्ला केही बर्ष हेर्ने हो भने आयोजक संस्थाले राम्रालाई भन्दा पनि आफ्ना मान्छे खुसी बनाउन अवार्ड वितरण गर्ने परिपाटीले नेपाली फिल्म अवार्डको विश्वसनितामाथि नै प्रश्न उठ्न थालिसकेको छ । तर पनि लगातार एकपछि अर्को अवार्ड गर्ने संस्थाहरु पछिल्लो समय नेपाली बजारमा नथपिएका होइनन् । केही दिन अगाडी मात्र पोखरामा सम्पन्न ‘आठौ डि सिने अवार्ड’ को विवाद साम्य हुन नपाउँदै दिनेश डिसी संयोजक रहेको संस्था सिनेमा सर्कल नेपालले ‘एलजी फिल्म अवार्ड’ गर्ने घोषणा गरेको छ । आइतबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रममा दिनेश डिसीले ‘एलजी फिल्म अवार्ड’ निपक्ष्य रहने बताए ।
उनले भने -‘हामीले यो अवार्ड कसैलाई खुसी पार्न गर्न लागेका होइनौ । हामीले चलचित्रकर्मीहरुको सम्मानका लागि ‘एलजी फिल्म अवार्ड’ आयोजना गर्न लागेका हौ । म के विश्वास दिलाउन चाहन्छु भने एलजी फिल्म अवार्ड निपक्ष्य र विवादरहित हुनेछ ।’ उनले अगाडी थपे -‘लाइफ टाइम अचिभमेन्ट अवार्डसहित २२ विधामा एलजी फिल्म अवार्डस् वितरण गरिनेछ । ‘एलजी फिल्म अवार्ड’ मा लाइफ टाइम अचिभमेन्ट अवार्ड नेपाली चलचित्रका चर्चित अनुहारलाई नभएर पर्दा पछाडीका कलाकर्मीलाई ५१ हजार नगद राशीसहित सम्मान गर्ने छौ ।’
स्टन्टम्यानदेखी पोस्टर डिजानर, ट्रेलर मेकरलाई समेत वितरण गरिन लागिएको ‘एलजी फिल्म अवार्ड’ भाद्र २२ गते ३ बजे आर्मी अफिसर क्लबमा हुने कार्यक्रममा दिनेश डिसीले जानकारी दिए । आयोजक संस्था सिनेमा सर्कल नेपालले जारी गरेको विज्ञप्तीमा अवार्डमा सहभागी हुने भारतीय जनता पार्टीका सांसद् एवं पूर्व मन्त्री तथा चर्चित बलीउड अभिनेता शत्रुघन सिन्हा र जापानीज निर्देशक मात्सुबयासीको समेत उपस्थिती रहनेछ । सिन्हाले नेपालको पर्यटन प्रवर्द्धनको लागि पनि सहयोग गर्नेछन् । एलजी फिल्म अवार्डमा बलीउड अभिनेता शत्रुघन सिन्हाको बायोग्राफी रहेको पुस्तक ‘खामोस’ को पनि नेपाल सार्वजनिक गरिनेछ । यो पुस्तकको भारतमा भने बलीउड अभिनेता अमिताभ बच्चनले सार्वजनिक गरेका थिए ।
झण्डै ३१ लाखको आसपासमा खर्च हुने बताइएको अवार्डको ट्रफी पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । ट्रफीमा ढाका टोपी एवं दौरा सुरुवाल लगाएको, कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेको पुरुषलाई देखिएको छ । यो अवार्डको ट्रफी अन्य अवार्डको ट्रफी भन्दा विल्कुलै फरक देख्न सकिन्छ । अवार्डको प्रमूख प्रायोजक एलजी रहेको छ भने चौधरी ग्रुपका बिभिन्न उत्पादन सहप्रायोजकमा रहेका छन् । आयोजक संस्थाले जारी गरेको विज्ञप्ती अनुसार एलजी फिल्म अवार्डका लागि फिल्म हेर्न जुरीहरुले जुलाई ७ देखी सुरु गरेका थिए । अगस्ट ३० मा जुरीसहित उत्कृष्ट ५ मनोनय सार्वजनिक गर्ने जानकारी दिँदै डिसीले ‘एलजी फिल्म अवार्ड’ अन्य अवार्डभन्दा विल्कुलै फरक रहने दाबी गरेका छन् ।