काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको प्रवेश पौडेल निर्देशित फिल्म ‘अमेरिका बोइज’ले दर्शकबाट सुखद प्रतिक्रिया पाइरहेको छ । फिल्म हेर्न राजधानीका केही मल्टिप्लेक्ससहित सिंगल थिएटर शनिवार हाउसफूल भए । फिल्म हेर्ने अधिकांश दर्शकले फिल्मको कमेडीसँगै क्लाइमेक्सलाई रुचाएका छन् ।
फिल्मले अमेरिकाको डिभी परेको झुठो खबर घरमा दिएर काठमाडौंमा पैसा पठाई मोजमस्ती गर्ने तीन युवाको कथा र उनीहरु कसरी अमेरिका भनेर खाडी मुलुकमा जान्छन् भन्ने कुरा देखाइएको छ । फिल्मको कथा अर्पण थापा, अभय बराल र आशिष प्रसाईंको वरपर घुमेको छ ।
यि कलाकारबाहेक फिल्ममा हरिहर शर्मा, सुनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, शारदा गिरी, रश्मी भट्ट, रमा थपलियालगायतका कलाकारको पनि अभिनय छ । फिल्ममार्फत नायिका सृष्टि केसीले डेब्यु गरेकी छन् । फिल्ममा प्रकाश भूजेल र ईन्द्रप्रसाद खरेलको लगानी छ ।