नेपाली चलचित्रमा सम्भावना बोकेका कलाकार हुन नाजिर हुसेन । चलचित्र ‘होस्टेल रिटन्र्स’मा उनको भुमिकालाई मन पराएपछि उनी रातारात हिट भए । त्यसपछि त उनलाई चलचित्रको अफर आउन कम नै भएन । उनले अभिनय गरेको नयाँ चलचित्र ‘वीर विक्रम’ अहिले प्रदर्शन भइरहेको छ । ‘वीर विक्रम’मा निभाएको भुमिकाबाट पनि तारिफ बटुलिरहेका नाजिरको अब प्रतिक्षाको घडी हो भदौ ३१ । किनकी उनी अन्य चलचित्रमा अहिलेसम्म सहायक कलाकारको भुमिका निर्वाह गर्दै आइरहेका थिए । ‘होस्टेल रिटन्र्स’मा काम गरेपछि जसरी उनको उचाई चुलियो त्यसपछि उनलाई चलचित्रमा मधेशी पात्रको रुपमा मात्र हेर्न थालियो तर चलचित्र ‘गाँठो’मा उनको भुमिका विल्कुलै फरक रहेको निर्माण पक्षले बताउँदै आएको छ ।
सहायक भुमिकाबाट चलचित्र ‘गाँठो’मा प्रमुख भुमिकामा काम गरेका नाजिरलाई चलचित्र गाँठो फुकाउन भने जस्तो सजिलो भने छैन् । यो चलचित्रसँग अन्य दुई चलचित्र पनि प्रदर्शनमा आउने भएका कारण नाजिर अहिले चलचित्रको प्रचारमा प्रशस्तै समय छुट्याएर पनि हिँडिरहेका छन् । बढी जसो चलचित्रमा कमेडी शैलीमा देखिएका नाजिरलाई चलचित्र गाँठोको ट्रेलर हेरिसकेपछि यो अनुमान लगाउन सकिन्छन् कि उनको भुमिका गाँठोमा विल्कुलै फरक छ । अब हेर्न यो बाँकी छ कि चलचित्र गाँठो नाजिरकै कारण फुक्ला वा अन्य कलाकारको कारण ? निर्देशक सुरज भुषालले निर्देशन गरेको यो चलचित्रमा नम्रता श्रेष्ठ, नाजिर हुसेन र अभय बराल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । यो चलचित्रले परिवार, प्रेमका सम्बन्धमा आउने गाँठोलाई उठान गरेको निर्देशक भुषालको भनाई छ । बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा तिलक श्रेत्री र सुरज भुषालले मिलेर यो चलचित्र बनाएका हुन् ।