२००७ साल देखीको नेपाली चलचित्र इतिहास हेर्ने हो भने अहिले नेपाली चलचित्रले धेरै फड्को मारिसकेको छ । २००७ सालमा प्रवासमा पहिलो नेपाली चलचित्र सत्य हरिशचन्द्र बनेपछि नेपाली चलचित्र इतिहास सुरु भएको पाइन्छ भने २०२२ सालमा नेपालमा निर्माण भएको चलचित्र आमा पछि नेपाली चलचित्र पूर्णतया व्यबसायिक बन्दै गएका हुन् । चलचित्र आमापछि जसरी नेपाली चलचित्रको विकास क्रमश हुँदै गयो तब देखी नेपाली चलचित्र बनाउने निर्माता, निर्देशक देखी कलाकारहरु जन्मिए । अनि सुरु भयो नेपाली चलचित्रको सफलता र असफलताको श्रृखला ।
एक समय थियो नेपाली चलचित्रहरु लगातार सफल हुन्थे तर अहिलेको समय विल्कुलै फरक भइसकेको छ । हिजो आज मेहेनतका साथ बनाइएका वास्तविक चलचित्रहरुलाई मात्र दर्शकहरुले रुचाउने गरेको पाइन्छ । चलचित्रका केही निर्माताहरुले असफल भएका आफ्ना चलचित्रहरुलाई फेसबुकमा बेफ्वाक्कको टिप्पणी गरि हिट भयो र करोडौं कमायो भन्ने खाल्का स्टाटसहरु लेख्नुले नै नेपाली चलचित्र क्षेत्रको स्थिती कस्तो छ भन्ने अडकल स्वत लगाउन सकिन्छ । वर्ष दिनमा बनेका झण्डै सय बढी नेपाली चलचित्रमध्ये धेरैले लगानी सम्म पनि उठाउन नसकेको अबस्था छ । केही वर्षदेखि नराम्रा चलचित्र धेरै बनेकाले त्यसैको हूलमा राम्रा पनि हराएका छन् । दर्शकलाई हलसम्म पुर्या्उनका लागि राम्रो चलचित्र निर्माण त जरुरी छ नै, त्यसैअनुसारको मार्केटिङ पनि आवश्यक छ । नेपाली चलचित्रका पोष्टरदेखि कथा, द्वन्द्व र प्रस्तुति सबै परम्परागत ढर्राबाट बाहिर निस्कन जरुरी छ । नेपालमा वितरकको दबाबमा चलचित्र बन्ने कुरा सामान्य भइसकेको छ । उनीहरूको भाषामा ‘व्यावसायिक सिनेमा’ भनिने त्यस्ता चलचित्रमा ‘फाइट, गीत र चलेका कलाकार’ हुनैपर्छ ।
एक समय नेपालमा चलचित्र निर्माण गरेपछि सम्पादनका लागि रिल बोकेर मुम्बई जानु पर्थ्यो तर अहिले नेपालमा नै उच्चस्तरिय प्रविधिहरु भित्रिसकेका छन् तर जुन अनुपातमा गुणस्तरिय चलचित्र बन्नु पर्ने हो अहिलेसम्म बन्न नसकेको गुनासो दर्शकहरुबाट चौतर्फी आउने गर्छन । चलचित्र निर्माण गरेपछि पब्लिसिटीमा खरो उत्रिने नेपाली निर्माताहरुले चलचित्रमा भने दर्शकहरुले खोजे अनुसारको खुराक दिन नसक्नुले नै नेपाली चलचित्रहरु असफल हुँदै आएको जगजाहेरै छ ।
नेपाली चलचित्र क्षेत्रमा हालसम्म कुनै आचारसंहिता बन्न नसक्नुले पनि नेपाली चलचित्र दिनानुदिन खस्कदै गएको चलचित्रकर्मीहरु बताउँछन् । त्यति मात्र होइन हदैसम्म अपारदर्शी नेपाली चलचित्र क्षेत्रमा न त कुनै कलाकारले पारिश्रमिक लिइ करको दायरामा आएका छन्, न त कुनै चलचित्रले गरेको कमाइको पारदर्शी रुपमा जानकारी प्राप्त गर्न सकिन्छ ।
चलचित्र प्रदर्शन र वितरणलाई पारदर्शी बनाउनका लागि ‘बक्स अफिस’ प्रणाली लागू गर्न ढिला भइसकेको छ । त्यसलाई लागू गर्न माग उठे पनि सरोकारवालाहरुले लागु गर्न सकेका छैनन् । बक्स अफिस प्रणालीले पीडित निर्मातालाई राहत दिनेछ भने कुन चलचित्रले कति कमायो भन्ने तथ्याङक पनि हरेक शो सँगै थाहा हुनेछ । नेपाली चलचित्र क्षेत्रलाई हेर्ने सरकारी संस्था चलचित्र विकास बोर्डले केही बर्षदेखी बक्स अफिस प्रणाली लागु गर्ने बताउँदै आएको छ तर ति कुराहरु अहिले सम्म कार्यान्वयन हुन सकेको छैन । नेपालमा बक्स अफिस प्रणाली लागु नहुँदा धेरै निर्माताहरु हावाको तालमा मेरो फिल्मले यति कमायो र एकैदिन करोड कमायोसम्म भन्न पछि पर्दैनन् । नेपालमा बक्स अफिस प्रणाली लागु भए धेरै निर्माताहरुले दर्शक र मिडिया झुक्याउन सक्ने थिइनन् किनकी चलचित्रले कति कमायो त्यो साँझसम्म दर्शक र मिडिया माझ पुगिसकेको हुने थियो । त्यसैले यि र यस्ता कुराहरुमा सरकारी निकाय देखी चलचित्रकर्मीहरुले ध्यान दिए समग्र चलचित्रक्षेत्रको विकास हुनेमा कुनै शंका नै छैन ।