काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले शनिबार राजधानीमा आफ्नो स्थापना दिवस मनाएको छ । २३ वर्ष पुरा गरेर २४ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चलचित्र पत्रकार संघले क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।
संघका अध्यक्ष दिनेश सिटौलाले हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै आएको राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा वार्षिकोत्सव यसपटक स्थानीय तहको निर्वाचनका कारण स्थगित गर्नुपरेको बताए । उनले विगत दुई वर्ष यता कोरोना महामारीका कारण स्थगित हुँदै आएको सम्मान तथा पुरस्कार आउँदो असार ४ गते एक समारोहको आयोजना गर्दै वितरण गर्ने घोषणा गरे ।
‘फिल्म क्षेत्र र चलचित्र पत्रकारितामा चुनौती बढिरहेको छ । यस्तो अवस्थामा विचलित नभई यसलाई थप सम्भावनाको रुपमा लिदै चलचित्र पत्रकारितालाई सही सूचनासहितको व्यवसायिक पत्रकारितामा जोड दिनुपर्ने अवस्था हामी सामु छ’, उनले भने, ‘संघको सैद्धान्तिक मूल्य मान्यतालाई आत्मसात गर्दै र डिजिटल प्रविधिको भरपुर प्रयोगमा अबको पत्रकारिता अघि बढ्नेछ भन्ने हाम्रो विश्वास छ ।’
कार्यक्रममा एसोसिएट प्रदेश अध्यक्ष बैकुण्ठराज पराजुलीले चलचित्र पत्रकारिता संयमित र मर्यादायुक्त हुनुपर्ने बताए । उनले प्रविधिको विकाससँगै चलचित्र पत्रकारिताको अनुपात संख्यात्मक रुपमा बढे पनि त्यसलाई गुणात्मक बनाउनुपर्नेमा सबैले जोड दिनुपर्ने जनाए ।
वि.सं. २०५६ साल जेष्ठ ७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकै आधारमा यस दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आइएको छ ।