स्वास्थ्य मन्त्री गगन थापाले बिहीबार वीर अस्पतालको निरीक्षण गरेका छन्। सो क्रममा अस्पताल कर्मचारी र चिकित्सकहरुलाई मन्त्री थापाले अस्पताल सुधारका सय दिने कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएका छन्। सय दिनभित्र अस्पतालमा सुधार गर्न सकिने कामको योजना बनाएर आफूलाई बुझाउन उनले निर्देशन दिए।
‘म आजको आजै सबै सुधार हुनुपर्छ भनेर देखाउनका लागि गरिने सुधार खोज्न आएको हैन,’ मन्त्री थापाले भने ‘कार्ययोजना बनाएर त्यो अनुसार काम भयो या भएन भन्ने कुराको रिपोर्ट लिन म बीचबीचमा आउनेछु।’ उनले अस्पतालको अवस्था सुधार्नका लागि तत्काल गर्नु पर्ने कामकाे सूची तयार पार्न निर्देशन दिए।
अस्पताल भित्र भएको अन्तरक्रियाका क्रममा मन्त्री थापाले आफ्नो मोबाईल खल्तिबाट झिकेर एक तस्बिर देखाउँदै भने ‘अस्पतालको शौचालय प्रयोग गर्नै नसकिने हालतमा छ,’ उनले खुलाए ‘यो तस्बिर अस्पताल कर्मचारीले मलाई फेसबुक म्यासेजमा पठाउनु भएको थियो, के यो शाैचालय प्रयोग गर्न लायक छ?।’ उनले सोधे।
अस्पतालको शौचालय सफा गर्नका लागि पनि मन्त्री नै आएर भन्नु पर्ने विषय नभएको भन्दै अस्पताल प्रशासनप्रति स्वास्थ्य मन्त्री थापाले अप्रत्यक्ष व्यंग्य गरे। -नागरिक