राजासँग नभई संसद्वादी दलहरुसँग सहकार्य गरी लोकतान्त्रिक गणतन्त्रमा जानुपर्ने कार्यदिशा अघि सार्दै आएका बाबुरामलाई दरबारले मन पराएको थिएन । बाबुराम भन्छन्– ‘दरबारसँग वार्ता गर्ने योजना अनुसार मलाई कारबाही गरियो ।’
प्रचण्ड संसद्वादी दलहरुसँग भन्दा राजासँगै वार्ता गरेर दुई पक्षले सत्ता बाँडफाँट गर्नुपर्ने दाउमा थिए । ‘बाबुरामलाई कारबाही गरेपछि ज्ञानेन्द्रले वार्तामा बोलाउँछन्, बाबुरामलाई पाखा लगाउन पाइन्छ र सत्तामा हावी हुन पाइन्छ अनि पार्टी पनि एकलौटी बन्छ भन्ने प्रचण्डको योजना रहेछ,’ बाबुराम भन्छन्– ‘मैले गणतन्त्रको नारा दिएपछि दरबारले अर्को पक्षलाई उकास्यो । नेपालमा त फेरि सजिलो छ कसैलाई गाली गर्न, भारतको दलाल भनिदिएपछि आफू राष्ट्रवादी भइन्छ ।’
‘मलाई कारबाही गरेपछि कटवालसँग प्रचण्डले भेट्ने कुरा चलिरहेको थियो ।’ प्रचण्डले आफूलाई भनेको कुरा स्मरण गर्दै बाबुराम भन्छन्– ‘प्रचण्ड आफैले यसो गरिँदैछ भनेका थिए ।’
तर, ज्ञानेन्द्रले प्रचण्डको अपेक्षाविपरीत ‘माघ १९’को कदम चालेपछि प्रचण्डको लाइन फेल खायो भने बाबुरामको लाइन पुष्टि हुँदै गयो । सत्तामा तुरुन्त पुग्ने सम्भावना पनि ट¥यो । ‘ह्युमिलेसन’ महसुस गरेका प्रचण्डले बदलामा फौजी शक्ति देखाउन भीषण आक्रमणको योजना बनाए । सम्पूर्ण फौजी शक्ति केन्द्रीकृत गरियो । प्रचण्ड खारा आक्रमणमा आफै लागे । आक्रमणपूर्व कमान्डरहरुलाई प्रशिक्षण दिँदै प्रचण्डले भनेका थिए– ‘यो सफल भएमा हाम्रो विजय अभियान सुरु हुनेछ ।’
यो आक्रमणमा मुख्य कमिसार प्रचण्ड, सहायक कमिसार नेत्रविक्रम चन्द ‘विप्लव’ थिए भने मुख्य कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ र जर्नादन शर्मा ‘प्रभाकर’ थिए । २०६१ चैत २५ गते रुकुमको खारास्थित सैनिक ब्यारेक आक्रमणका क्रममा लगातार १८ घन्टासम्म भिडन्त हुँदा झन्डै एक सयको हाराहारीमा माओवादी छापामार मारिएका थिए ।
‘आक्रमणमा मलाई पनि लगेर देखाउँछु भनेका थिए प्रचण्डले तर जाने दिन लगेनन्, सुट्ट गए,’ बाबुराम भन्छन्– ‘म पनि जान्छु, हेर्छु भनेको थिएँ ।’ प्रचण्डले आफै“ कमान्ड गरेको, सम्पूर्ण फौजी शक्ति लगाइएको युद्धमा नराम्रो पराजय बेहोरेपछि प्रचण्ड आत्तिए । बाबुराम भन्छन्– ‘प्रचण्डले जितेको भए राजनीतिक कोर्स अर्कैतिर जान सक्थ्यो । लोकतान्त्रिक गणतन्त्र नआई इतिहासले अर्को बाटो लिन सक्थ्यो ।’ -पहिलोपोस्ट
(पत्रकार अनिल थापाले लेखेको पुस्तक ‘अविराम बाबुराम’ को अंश। पुस्तक आज सार्वजनिक हुँदैछ। पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईको जीवनी पुस्तकमा प्रजातान्त्रिक विचार बोक्ने बाबुराम कसरी कम्युनिष्ट बने ? माओवादी आन्दोलनमा कसरी लागे ? यो आन्दोलनका क्रममा प्रचण्डसँग पटक पटक परेको विवाद, कारवाहीमा परेको प्रसङ्ग, उनलाई जिउँदै पुर्ने कुरा, शान्ति प्रकृया, लुकाइएका हतियारको प्रसङ्ग, राजा र भारतसँगको सम्बन्ध,प्रधानमन्त्रीकालमा राष्ट्रपतिसँगको द्वन्द्वका साथै उनको बाल्यकाल तथा विद्यार्थीकालका प्रसङ्गहरु समेटिएको छ।)