पछिल्लो समय पुराना बलिउड फिल्म हलमा रि-रिलिज गर्न क्रम बढे संगै केही फिल्मले भारतीय फिल्मि बजारमा राम्रो कमाइ गरिरहेका छन्।
‘लैला मजनू’ ले रि-रिलिज गर्दा राम्रो कमाइ गरेको थियो । अब ‘सनम तेरी कसम’ लाई दर्शकले साथ दिइरहेका छन्। यो फिल्म २०१६ मा प्रदर्शनमा आएको थियो। समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्म बक्सअफिसमा असफल साबित भएको थियो।
२५ करोड भारूमा बनेको यस फिल्मले लगानी समेत सुरक्षित गर्न नसकी केबल ९ करोड १० भारू मात्र संकलन गर्न सकेको थियो। तर टेलिभिजन र युट्युबमा रिलिज भएपछि यस फिल्मले निकै राम्रो चर्चा कमाउन सफल भयो। राम्रो चर्चा पाएपछि यो फिल्म गत शुक्रबार देखि हलमा रि-रिलिज गरिएको छ। रि-रिलिज भएको दुई दिनमै ‘सनम तेरी कसम’ ले आफ्नो पुरानो रेकर्ड तोडेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पहिला ९ करोड १० लाख भारू कमाएको फिल्मले रि-रिलिज हुँदा दुई दिनमै ९ करोड ५० लाख भारू कमाउन सफल भयो।
राधिका राव र विनय सप्रूले निर्देशन गरेको फिल्ममा हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होकेनको मुख्य भूमिका छ। केही समयअघि यसको दोस्रो शृंखलासमेत बन्ने घोषणा भइसकेको छ।