काठमाडौँ —नेपथ्यले अस्ट्रेलियाको श्रृंखलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्यान्डले अस्ट्रेलियाका सातवटा सहरहरुमा प्रस्तुती दिनेछ ।
आगामी मार्च महिनाको ३ तारिख क्यानबेराबाट सुरु हुने नेपथ्य यात्रा त्यसै महिनाको २९ तारिख सिड्नीमा पुगेर सम्पन्न हुनेछ । त्यसबीच ब्यान्डले पर्थ, ब्रिसबेन, होबार्ट, एडिलेड र मेलबर्नको मञ्चमा आफूलाई उभ्याउने छ । नेपथ्यको यो सातौँ अस्ट्रेलिया यात्रा श्रृंखला हो ।
मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् । नेपथ्यको व्यवस्थापन सम्हाल्ने हिसाबले ब्यान्डसँग नेपालय आबद्ध भएको यो २५ औं वर्ष पनि हो । यसबीच ब्यान्डले हालसम्म १७ वटा मुलुकको ४६ वटा सहरमा ८८ पटक आफुलाई उभ्याइसकेको छ ।
नेपथ्यले स्थापनादेखि नै देश विदेशमा प्रस्तुति दिँदै आएको छ । अस्ट्रेलियाको यसपटकको यात्रामा ब्यान्डका छ सदस्य र आठजना प्राविधिक एवं व्यवस्थापन गरेर १४ सदस्यीय समूह प्रस्थान गर्नेछ ।