काठमाडौं- शुक्रबारदेखि हलमा ४ नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘दुखी आत्मा’ र ‘रंगी’, बलिउड फिल्म ‘छावा’ र हलिउड फिल्म ‘क्याप्टेन अमेरिका: व्रेभ न्यू वर्ल्ड’ छन्।
भ्यालेन्टान्स डेको दिन पारेर हिजो शुक्रवारबाट सिनेमा हलहरुमा दुई नयाँ नेपाली फिल्महरु ‘दुःखी आत्मा’ तथा ‘रंगी’ प्रदर्शनमा आएका छन् । दयाहाङ राई तथा आँचल शर्माको मुख्य भूमिका रहेको दुखी आत्मालाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने सलोन बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको रंगीलाई सुरेश न्यौपानेले निर्देशन गरेका छन् ।
सार्वजनिक प्रदर्शनमा आउनु अघि दुबै फिल्मले काठमाडौंका दुई भिन्न सिनेमा हलमा प्रीमियर शो आयोजना गरेका थिए । गत बधुवार साँझ ‘रंगी’ को प्रीमियर गरिएको थियो भने ‘दुःखी आत्मा’ को बिहीवार प्रीमियर गरिएको थियो । विगतका प्रीमियर शोहरुमा झैँ यो साताका यी दुई फिल्मका प्रीमियरमा सेलिब्रेटी दर्शकले फिल्मको मिश्रित प्रतिक्रिया दिएका छन्।
देशभरीका सिनेमा हलमा झण्डै दुई सय शो पाएको ‘दुःखी आत्मा’ ले आक्रामक थालनी गर्ने अपेक्षा गरिएता पनि सनिवार बिहान सम्म तेस्तो भएको देखिएन । निर्देशक लामाकै लेखनमा तयार भएको यो फिल्ममा यौन समस्याका कारण एक पुरुषले भोग्ने विभिन्न तनावको कथालाई प्रस्तुत गरिएको छ।
हिमाल कडरियाको निर्माणमा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्ममा कवि श्रवण मुकारुङका विभिन्न १० वटा कविता पनि समेटिएका छन । आलोक शुक्लाले खिचेको यो फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।
यता, सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’को प्रस्तुतकर्ता अभिनेता सलोन बस्नेत हुन् । यो फिल्ममा बाबु छोरीको कथालाई चित्रण गरिएको छ । सुरेश न्यौपानेको डेब्यू निर्देशनमा बनेको यो फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको यो फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।