भदौ महिना नेपाली चलचित्र क्षेत्रका लागि निकै फलदायी रह्यो । ‘वीर विक्रम’, ‘चपली हाईट २’ ले सफलताको स्वाद चाख्दै गर्दा भदौ २४ गते प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ ले त रेकर्ड नै बनायो । प्रदर्शनमा आएको १० दिन वित्दै गर्दा यो चलचित्रले ५ करोडको विजनेश गरिसकेको छ । दोस्रो हप्तामा चलिरहेको ‘छक्का पन्जा’ ले अहिलेपनि नेपालका अधिकांश हलहरु कब्जा गरेर बसेको छ भने दर्शकहरु पनि राम्रै हुलिरहेको छ । चलचित्र ‘छक्का पन्जा’ देशभर हाउसफूल भइरहँदा भदौ ३१ गते दुई फिल्म एकसाथ प्रदर्शनमा आए । ति थिए ‘गाँठो’ र ‘ड्राइभर दाई’ ।
भदौ ३१ गते प्रदर्शनमा आएका यि दुई चलचित्र मध्ये ‘गाँठो’ लाई केही प्रतिक्षित चलचित्रको रुपमा हेरिएको थियो तर समिक्षकहरुबाट कमजोर प्रतिक्रिया आएपछि अहिले यो चलचित्रको अबस्था हेर्न लायकको छैन । ‘ड्राइभर दाई’ त हलमा लागेको दर्शकहरुलाई पनि थाहा छैन तर ‘गाँठो’ ले केही राम्रो गर्छ भन्ने थियो चलचित्रकर्मीहरुलाई तर ‘गाँठो’ ले पनि कमाल गर्न सकेन । प्रदर्शनमा आएको तीनदिनसम्मको व्यापार हेर्ने हो भने निर्माणपक्षले दैनिक लाख रुपैयाँ पनि हात पार्न सकेको छैन ।
‘गाँठो’ मा मुख्य भुमिका निभाएका कलाकार नाजिर हुसेनको कारण चलचित्र चल्छ भन्ने निर्माणपक्षलाई ठूलो आश थियो तर दर्शकहरुले नाजिरलाई हेर्न हलसम्म जान उचित नै ठानेनन् । अब प्रश्न यो छ कि, एक चलचित्रका लागि ५ लाख पारिश्रमिक मागेका नाजिरले ‘गाँठो’ बाट असफलता हात पारेपछि यती नै रकम माग्लान् या के गर्लान् ? यो उनैलाई नै थाहा होला । तर ‘गाँठो’ ले भने उनलाई नराम्रोसँग धोका दिएको छ । बक्सअफिसमा कमालको व्यापार गर्न नसकेपछि अहिले निर्माणपक्षसँगै कलाकारहरु पनि तनाबमा देखिएका छन् ।
निर्देशकीय पक्ष कमजोर भएका कारण चलचित्र ‘गाँठो’ ले सफलता हासिल गर्न नसकेको हो भन्दा पनि गलत नहोला । ‘होस्टेल रिर्टन्स’ र ‘मौन’ चलचित्र निर्देशन गरिसकेका सुरज भुषालले ‘गाँठो’ मा दर्शक बाँध्न असफल देखिएका छन् । ‘गाँठो’ को सबैभन्दा कमजोरी पटकथा र निर्देशकीय पक्ष हो, जसका कारण नै अहिले चलचित्रको व्यापारमा ठूलो असर पुगेको छ ।