हिरो हुन अनुहार होइन, अभिनय क्षमता चाहिन्छ भन्ने पुष्टि गरेको दयाहाङ राई अहिलेका व्यस्त नायक हुन् । नाटक हुँदै चलचित्रमा प्रवेश गरेका दयाहाङ राई आफुले पाएको भुमिकालाई न्यायपूर्वक निभाउन माहिर छन् । पर्दामा दयाहाङलाई देख्दा दर्शकहरुले आफुले नै अभिनय गरे जस्तो महशुस गर्ने भएका कारण पनि उनका प्राय चलचित्रहरु सफल हुँदै आइरहेका छन् । विस्तारै लोकप्रियता बढ्दै गएपछि उनको व्यस्तता पनि अहिले निकै बढेको छ ।
यतिसम्मकी उनी एक बर्षका लागि पूरै प्याक भइसकेका छन् । अहिले उनी सिन्धुलीमा छायाँकन भइरहेको चलचित्र ‘घामपानी’ मा व्यस्त छन् । पहिलो पटक नायिका केकी अधिकारीसँग चलचित्र ‘घामपानी’ मा स्क्रिन शेयर गरिरहेका दयाहाङले यो चलचित्रपछि मिलन चाम्स्को ‘ह्याप्पी डेज्’को सुटिङमा लाग्नेछन् । उनले एक अन्तर्वार्ताको क्रममा ‘ह्याप्पी डेज्’को सुटिङपछि तीन महिना मण्डला थ्रिएटरमा सक्रिय रुपमा लाग्ने बताएका छन् । अनामनगरमा रहेको मण्डला थ्रिएटरमा दयाहाङको लगानी रहेको छ । चलचित्रको छायाँकनमा व्यस्त भएका कारण उनले केही बर्षदेखी मण्डला थ्रिएटरलाई समय दिन सकिरहेका छैनन् । उनका अनुसार आउँदो नयाँ बर्षसँगै उनी दुईटा चलचित्रमा व्यस्त हुने पक्का छ । यो वर्ष उनका ‘पुरानो डुंगा’, ‘लुट–२’, ‘लाल्टिन’ लगायतका चलचित्रहरु प्रदर्शनमा आउँदै छन् ।
लगातार एकपछि अर्को चलचित्रमा अभिनय गर्दै आइरहेका दयाहाङले अब संख्यामा भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने देखिन्छ । चलचित्र आयो भन्दैमा जुन पायो त्यही खेल्दै जाने हो भने अहिले बचिरहेको साख कालन्तरमा गएर नझर्ला भन्न सकिन्न । हालै मात्र प्रदर्शनमा आएको उनले अभिनय गरेको चलचित्र ‘झुम्की’ असफल बनेको छ । दयाहाङलाई नै हेर्न आउने हो भने वा दयाहाङकै क्रेजले चलचित्र चल्ने हो भने यो चलचित्र पनि चल्नु पर्ने थियो तर त्यसो हुन सकेन । अहिले दर्शकमा दयाहाङको चलचित्र हेर्ने चाम त छ तर यसरी नै चलचित्र खेल्दै जाने हो भने भोलीको दिनमा उनको पनि क्रेज गुम्न समय नलाग्ला भन्न सकिन्न । त्यसैले दयाहाङ राईले संख्यात्मक हिसाबमा चलचित्र खेल्ने भन्दा पनि उत्कृष्ट चलचित्र खेल्न अब आबश्यक देखिन्छ ।