तपाईहरुले चलचित्र ‘दर्पण छायाँ’ हेर्नु भएको छ भने नायक उत्तम प्रधानलाई त पक्कै भुल्नु भएको छैन होला । ‘दर्पणछायाँ’ चलचित्रमा एक दृष्टिविहिन यूवकको भुमिका निर्वाहा गरेका उत्तम प्रधान सोही चलचित्रबाट नै दर्शकहरुको नजरमा परेका हुन् । उनको अभिनयका फ्यानहरु अहिले पनि नेपालमा असंख्य छन् तर उनलाई चलचित्रको पर्दामा देख्न नपाएको भने लामै समय भइसकेको छ र अब सायदै उनलाई नेपाली चलचित्रको पर्दामा भेट्न सम्भब छ किनकी उनी लामो समयदेखी सिक्किममा बस्दै आइरहेका छन् । लगातार आफुले अभिनय गरेका चलचित्रहरु सफल भइरहँदा नै उनी सिक्किम हानिएका थिए ।
आफुताकाका कलाकारहरु अमेरिका पलायन भइरहँदा उनले भने नेपालको छिमेकी राष्ट्र भारतको सिक्किम ताके र त्यसपछि नेपाली चलचित्रबाट टाढा रहँदै आए । उनलाई पुनः नेपाली चलचित्रमा फर्काउन नेपाली निर्माताहरुले अनेकौं प्रयास नगरेका होइनन् तर ति सबै प्रयासहरु असफल भए । उनले पछिल्लो पटक अभिनय गरेको नेपाली चलचित्र ‘लेटर’ हो, जसमा उनको मुख्य भुमिका रहेको थियो ।
उनी अहिले सिक्किममा चलचित्र विकास बोर्डको अध्यक्षका रुपमा कार्यरत छन् । केही महिना अगाडी काठमाडौं आएर फर्किएका उत्तमलाई निर्देशक तुलसी घिमिरेले चलचित्र ‘दर्पण छायाँ’ को सिक्वेलमा दोहोर्याउने प्रयास पनि गरेका थिए तर उनले आफ्नो कार्यव्यस्तताका कारण काम गर्न मानेनन् । योबाट नै थाहा हुन्छ कि अब नेपाली चलचित्रमा उनीको इन्ट्री असम्भब छ । नेपाली चलचित्रमा काम गर्न नचाहेपनि उनी एक्शन-कटबाट भने टाढा रहन सकेका छैनन् । उनले अहिलेपनि केही भारतीय र बंगाली चलचित्रमा काम गरिरहेका छन् । चाँडै चलचित्र निर्देशनमा उत्रने तयारीमा रहेका उत्तम प्रधानले टेलिसिरियल ‘मुक्ती’बाट सर्वाधिक चर्चामा आएका थिए । उत्तम प्रधानले अभिनय गरेको ‘दर्पणछायाँ, लहना’ चर्चित चलचित्र हुन् ।