केही दिन अगाडी देखी गाइँगुइँ रुपमा सुनिएको नायक पल शाह र नायिका आँचल शर्माको प्रेमसम्बन्धले चर्चा पाइरहेको अबस्थामा यो जोडी पुन एकपटक चलचित्रको पर्दामा देखिने भएको छ । ‘नाइँ नभन्नू ल ४’ मा एकसाथ देखिएका पल र आँचलले दोस्रो पटक चलचित्र ‘जोनी जेन्टलम्यान’मा काम गर्न लागेका हुन् ।
‘नाइँ नभन्नू ल ४’ मा काम गर्दै गर्दा उनीहरु अफयेरमा रहेको बताइएको थियो तर यो जोडीले आफुहरु घनिष्ट साथी मात्र रहेको बताउँदै आएका छन् । सोहि क्रममा चलचित्र जोनी जेन्टलम्यानको वुधबार राजधानीमा एक कार्यक्रमका बिच निर्माण घोषणा गरिएको छ । नितिन चन्दले निर्देशन गर्ने यो चलचित्रमा पल शाह र आँचल शर्माको प्रमुख भुमिका रहनेछ । कार्यक्रममा बोल्दै निर्देशक चन्दले चलचित्र ‘जोनी जेन्टरम्यान’ मा प्रेम, रोमान्स र एक्शन प्रधान रहेको बताए । उनले चलचित्रमा पल जोनी देखी जेन्टलम्यान कसरी बन्छन् भन्ने देखाउन खोजिएको पनि बताए ।
यही चलचित्रका लागि अहिले पलले दैनिक ४ घण्टासम्म द्धन्द्ध निर्देशक प्रकाश विक्रम शाहसँग एक्सन, जिम्न्यास्टिकको तालिम लिइरहेका छन् । कार्यक्रममा बोल्दै नायक पल शाहले आफु नाइँ नभन्नू ल ४ पछि जोली जेन्टलम्यानकै लागि अरु चलचित्रमा काम नगरेको बताए । त्यस्तै नायिका आँचल शर्माले चलचित्र जोली जेन्टलम्यानमा २ सय प्रतिशत प्रतिफल दिने बताइन ।
हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको चलचित्रलाई एन्ड्रिउ पौडेलले निर्माण गर्न लागेका हुन् । चलचित्रका कार्यकारी निर्माता अजय मल्ल हुन् । चलचित्रलाई शुभकामना दिन चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई लगायतको उपस्थिती रहेको थियो ।
फोटो : मिलन ढुंगाना