रेखा थापा, जसको नामबाट नै चलचित्रले ब्लकमास्टर व्यापार गर्ने गर्छन । ‘हिरो’ चलचित्र हुँदै नेपाली चलचित्रक्षेत्रमा डेव्यू गरेकी रेखाले हालसम्म २ सय बढि चलचित्रमा काम गरिसकेकी छिन् । यदी कोही अभिनेत्रीका कारण नेपालमा चलचित्र चल्छ भने उनी रेखा थापा हुन् । उनले २ सय चलचित्रमा काम गरिसक्दा लाखौं प्रशंसक बटुलिरहेका छन् । त्यसैले त उनका अधिकांश चलचित्रहरु केही बर्षदेखी लगातार सफल हुँदै आइरहेका छन् । भन्ने गरिन्छ रेखा आफ्नो चलचित्र चलाउनका लागि विभिन्न स्क्याण्डलहरु गर्ने गर्छिन र त्यही कारणले गर्दा पनि उनका चलचित्रहरु चल्छन् ।
नारीप्रधान चलचित्रमा विशेषत एक्शन अवतारमा प्रस्तुत हुने रेखा थापा खासै अन्य ब्यानरबाट निर्माण हुने चलचित्रमा काम गर्दिनन् । रेखाले झण्डै ५ बर्षदेखी खासै अन्य ब्यानरबाट निर्माण भएको चलचित्रमा काम गरेकी छैनन् यद्यपी यो बिचमा उनले आफ्नो ब्यानरभन्दा बाहिरका केही चलचित्रमा पनि काम गरेकी थिइन । तर ति पूर्णरुपमा असफल रहे । पछिल्लो पटक उनले आफ्नो ब्यानरभन्दा बाहिरको चलचित्र ‘तथास्तु’ र ‘जाउँ हिँड पोखरा’ मा काम गरेकी थिइन तर यो दुवै चलचित्र नेपाली बक्सअफिसमा असफल रहे । गएको केही बर्षदेखी रेखा फिल्मसमा निर्माण हुने चलचित्रमात्र उनलाई फापेको पाइन्छ । त्यसैले पनि उनी अन्य ब्यानरमा निर्माण हुने चलचित्रमा खासै काम गर्दिनन् ।
गएको बर्ष ‘रामप्यारी’ चलचित्र दर्शकमाझ पस्किएकी रेखाले अब चाँडै आफ्नो ब्यानरबाट निर्माण हुने गरि नयाँ चलचित्र निर्माण गर्दैछिन् । खबरका अनुसार उक्त चलचित्र रेखा आफैंले निर्देशन गर्ने बताइएको छ । तर ‘रामप्यारी’ चलचित्रपछि उनी लगालग अन्य ब्यानरमा निर्माण भएका चलचित्रमा काम गरिरहेकी छिन् । केही महिना अगाडी मात्र कृषा चौलागाइँले निर्माण गरेको चलचित्र ‘पलाँस’मा काम गरेकी रेखा अब चाँडै सविन श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘हिरो रिटन्र्स’मा देखिँदैछिन् ।
रेखाले चलचित्र ‘पलाँस’को कथावस्तु उत्कृष्ट भएका कारण काम गरेकी हुन् भने सविनसँग राम्रो सम्बन्ध भएका कारण ‘हिरो रिटन्र्स’ खेल्न राजी भएकी हुन् । बाहिरी ब्यानरमा काम गर्दा खासै सफल नदेखिएकी रेखालाई अब यि दुई चलचित्रले कस्तो सफलता दिलाउने हुन् त्यो भने हेर्न बाँकी नै छ । उनले अभिनय गरेको चलचित्र पलाँस यसै बर्षको तिहारमा प्रदर्शन हुँदैछ भने हिरो रिटन्र्स यसै बर्ष भित्र प्रदर्शनमा आउने बताइएको छ ।