छवि ओझाले निर्माण गरेको चलचित्र ‘किस्मत’ बाट नेपाली चलचित्रमा डेव्यू गरेका चकलेटी हिरो आर्यन सिग्देल आजबाट ३५ बर्षमा टेकेका छन् । ‘किस्मत’ चलचित्रपछि लगातार सफलता हासिल गरिरहेका आर्यन राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपका धनी मानिन्छन् । हाल चलचित्र ‘मरिना’ र दिनेश राउतले निर्देशन गर्ने नयाँ चलचित्रमा काम गर्ने तयारीमा रहेका आर्यनको पछिल्लो प्रदर्शित सिनेमा ‘क्लासिक’ हो ।
रामचन्द्र सिग्देल र सारदा सिग्देलको जेठो सन्तानका रूपमा हिन्दु पण्डितको घरमा रुसुवाको दुन्चेमा आर्यनको जन्म अगष्ट ५, १९८४ मा हरिश सिग्देलको रूपमा भएको थियो । सिग्देलको एउटा बहिनी योसोदा न्यौपाने अहिले अष्टे्लियामा छिन् । उनको परिवार पछि काठमाडौंको थानकोटमा बसाइ सरेको थियो।
आर्यनले दिपेन्द्र पुलिस स्कुलबाट आफ्नो शिक्षा प्रारम्भ गरेका थिए भने एसएलसी चाहिँ मंगलदोय उच्च मा.वीबाट पास गरेका थिए। पछि उनी रत्न राज्य क्यापसमा बिजनेस पढन भर्ना भएका थिए तर उनले अभिनयको कक्षा लिन थाले पछि शिक्षा अपुरो नै रहन गयो। पछि नेपाली चलचित्रमा प्रवेश गर्ने सौख बढ्दै गएपछि उनले आफ्नो नाम हरिशबाट आर्यन बनाए । उनलाई आर्यन नाम निकै फापेको पनि पाइन्छ । रोमान्टिक हिरो भनेर चिनिने आर्यनलाई सिनेखबर डटकमको तर्फबाट पनि जन्मदिनको हार्दिक शुभकामना ।