सामाजिक सञ्जालमा ‘तरकारीवाली’ नामले चर्चित बनेकी गोरखाकी कुशुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म निशुल्क छात्रवृत्ति प्रदान गरिएको छ । कुशुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्र निर्माता कम्पनी पपुलर मल्टी मीडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यतामा छात्रवृत्ति प्रदान गरिएको हो । त्यस्तै, काठमाण्डौको बबरमहलस्थित नेपाल मेघा कलेजको सहकार्यतामा स्नातक र स्नातकोत्तर तहमा अध्ययनको पूर्ण छात्रवृत्ती प्रदान गरिएको हो ।
शिक्षण शूल्क तथा छात्रवृत्ती प्रदान कार्यक्रममा काठमाण्डौबाट पपुलर मल्टी मीडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनी, पपुलर मल्टी मीडियाले बनाउँदै गरेको चलचित्र ‘लम्फू’ का निर्देशक गोपाल चन्द्र लामिछाने, चलचित्र निर्माता पुनम क्षेत्री गौतम, कलाकार सञ्जीत भण्डारी, बरिष्ठ साहित्यकार एल.बि. क्षेत्री, कुशुम श्रेष्ठका काका गोपिलाल श्रेष्ठ, क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदिस चन्द्र शर्मा लगायतको उपस्थिती थियो ।छात्रवृत्ति हस्तान्तरण गर्दै तरकारीवाली तथा कुशुम श्रेष्ठले आफ्नो लागि यो सहयोग अतुलनिय रहेको बताईन् । ‘यो सहयोग मेरो लागि अतुलनिय छ । उहाँहरुको चाहना अनुरुप मैले उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु । अहिले मेरो प्रमूख प्राथमिकता भनेको अध्ययन नै हो’ । उनले आफु निम्न आर्थीक अवस्थामा रहेको समयमा यो सहयोग निकै ठुलो रहेको बताईन् ।
नेपाल चलचित्र निर्देशक समाजका महा-सचिव तथा चलचित्र निर्देशक गोपाल चन्द्र लामिछानेले कुशुमलाई आफुले ‘लम्फू’ चलचित्रमा उनलाई सुहाउने गरी एक भूमिका रहेकोले अफर गरेको बताए । ‘कुशुमलाई सुहाउने भूमिकामा हामीले अफर गरेका थियौँ तर उहाँले पहिले पढ्ने मनसाय व्यक्त गर्नुभयो । पहिले शिक्षा र पछि जुनसुकै क्षेत्र रोज्न सक्ने भनेपछि हामीले उनलाई छात्रवृत्ती दिने बारेका निर्णय गरेका हौँ’ निर्देशक लामिछानेले भने, ‘उनको उच्च शिक्षाको लागि यो हाम्रो सानो सहयोग हो’ ।
केहि समय अगाडी कुशुमले तरकारी बोकेर हिँडिरहेको अवस्थामा खिचिएका दुई तस्वीर संसारभर भाईरल बनेका थिए ।