आजभन्दा १६ बर्ष अगाडी निर्माण भएको सफल चलचित्र ‘दर्पण छायाँ’ का प्रत्येक कुराहरु सायद तपाईहरुलाई यादै होला । चलचित्र ‘दर्पण छायाँ’ मा काम गरेका नायकद्धय दीलिप रायमाझी, उत्तम प्रधान र नायिका निरुता सिंहको अभिनयको तारिफ त झन शब्दले कसले नै पो गर्न सक्छ होला र ! १६ बर्ष अगाडी निर्माण भएको यो चलचित्र आज हेर्दा पनि जो कोहिँको आँखा रसाउँछ । चलचित्र ‘दर्पण छाँया’ मा समाबेश गीतहरुले त झन एकसमय उधुम नै मच्चाएको थियो र आजपनि ति गीतहरु उतिक्कै कर्णप्रिय छन् । चलचित्रमा समाबेश ‘नयाँ गीत गाऊ भने’, ‘लहनाले जुरायो कि’, ‘न चिने सम्म को हो को हो’, ‘उकालीको डाँडै डाँडा’, ‘त्यो डाँडा पारी यो डाँडा वारी’ र ‘बैशालु मनले रोजेको सपना’ बोलका गीतहरु समोबश थिए । यि गीतहरुको कारणले पनि चलचित्र ‘दर्पण छाँया’ ले नेपाली बक्सअफिसमा राम्रै पैसा बटुल्न सफल भयो भन्दा सायद गलत नहोला ।
आज १६ बर्षपछि यही चलचित्रको नामको पछाडी ‘टु’ थप्दै निर्देशक तुलसी घिमिरेले ‘दर्पण छायाँ २’ तयार पारेका छन् । अनुभवी र पुराना निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दर्पण छायाँ २’ यही बर्षको फागुन २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यही चलचित्रमा समाबेश नयाँ गीत हालै निर्माण पक्षले सार्वजनिक गरेको छ । ‘आकाशैमा’ बोलको र्शीष गीतमा चलचित्रका नायक पुष्पल खड्का र साहारा कार्की फिचरिङ छन् । गीतमा राजेश पायल राई र मेलिना राईको स्वर छ भने शब्द निर्मात्री साबु गदाल कार्की आफैले लेखेकी छन् । गीतको कोरियोग्राफी छेदुप लामाले गरेका हुन् । के १६ बर्ष अगाडी निर्माण भएको चलचित्र दर्पण छायाँका गीतहरु जस्तै ‘दर्पण छायाँ २’ को यो र्शीष गीतले पनि धुम मच्चाउँला ? त्यो भने केही दिन भित्रमा नै थाहा हुनेछ ।
दर्पण छायाँमा दीलिप, उत्तम र निरुता थिए भने यसको भाग ‘टु’ अर्थात ‘दर्पण छायाँ २’ मा भने सबै नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ । चलचित्रमा पुष्पल खड्का र साहारा कार्कीका अलवा श्रद्धा प्रसाई, फिरोज तिमिल्सिना, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल, रोनी केसी लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई सनु कार्की र रवी कार्कीले निर्माण गरेका हुन् । तुलसी घिमिरेको लेखन र निर्देशन रहको चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोपसाङ लामा हुन् ।