गएको बर्ष प्रदर्शनमा आएको अनमोल केसी स्टारर चलचित्र ‘ड्रीम्स’ मा काम गरेपछि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको चर्चा अनमोलको भन्दा बढी भयो । ‘ड्रीम्स’ हेरेपछि साम्राज्ञीको तारिफ नगर्ने त सायदै भेटिए । यतिसम्मकी साम्राज्ञीको अभिनयको अगाडी अनमोल पनि फिक्का देखिए । ‘ड्रीम्स’ मा उनको कामको तारिफ जसरी भयो त्यसपछि त उनलाई अहिले भविष्यकी सुपरस्टार भन्दै परिचय दिन थालिएको छ । बोल्ड आवाजले सबैलाई मोहित पार्ने साम्राज्ञीले केही हप्ता अगाडी मात्र आफ्नो २१ औं जन्मदिन मनाइन ।
उनको बर्थडे भन्दा पनि उनले सोही दिन फेसबुकमा अपलोड गरेको एक तस्बिरले त तहल्का नै पिट्यो । कारण थियो साम्राज्ञीले प्रेमी सार्वजनिक गर्नु । जन्मदिनको दिन साम्राज्ञीले आफ्नी आमा र मयंक खड्कासँगको तस्बिर शेयर गरेकी थिइन् । फोटोसँगै उनले ‘दिनहरु बल्ल सुरु भए’ भन्दै स्टाटस पनि लेखेकी थिइन । त्यसपछि त के चाहिन्थ्यो र मिडियाहरुमा साम्राज्ञी प्रेममा छिन् भनेर समाचारहरुको बाढी नै लाग्यो । तर यस विषयमा अहिलेसम्म साम्राज्ञीले मुख खोलेकी थिइनन् । तर हालै एक अवार्ड समारोहमा उनले यस विषयमा आफ्नो विचार राखेकी छिन् । उनले मयंक खड्का आफ्नो मिल्ने साथी मात्र भएको बताएकी छिन् । ‘सिनेखबर डटकम’ सँगको छोटो कुराकानीको क्रममा उनले भनिन्, ‘जसरी मिडियाहरुमा मेरो अफेयरको विषयमा खबरहरु आए ति सबै झुट हुन् । मयंक खड्कासँग नाम जोडिएर समाचारहरु आउँदा निकै दुखी छु । मयंक खड्का मेरो सबैभन्दा मिल्ने साथी हो तर प्रेमी होइन । म सिंगल छु ।’
साम्राज्ञीले प्रेमी भनिएका मयंक खड्का साथी भनेपछि अब यस विषयमा के नै पो भन्न बाँकी रह्यो र ! उनले शनिबार कामना अवार्डमा चलचित्र ‘ड्रीम्स’ बाट सर्वोत्कृष्ट नव-नायिकाको अवार्ड पनि उचालेकी थिइन । चैत १८ गते साम्राज्ञी अमिनित चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शनमा आउँदैछ ।