यस बर्ष अन्य बर्षहरुको तुलनामा भन्दा नेपाली चलचित्रहरुले राम्रै विजनेश गरिरहेका छन् । यस बर्षको बैशाख १० गते प्रदर्शनमा आएको चलचित्र ‘हाऊ फन्नी’ देखी मंसीर १७ गते प्रदर्शनमा आएको दुई चलचित्र ‘विजुली मेसिन’ र ‘तँ म र ऊ’ सम्म आइपुग्दा झण्डै आधा दर्जन नेपाली चलचित्रले लगानी सेभ गरिसकेका छन् । अझ भदौ २४ गते प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ ले त लगानी सेभ मात्र गरेन, नेपाली चलचित्र इतिहासमै सर्वाधिक व्यापार गर्न सफल चलचित्रको सूचीमा समेत दर्ता भयो । यसरी हेर्दा यस बर्ष नेपाली चलचित्र क्षेत्रका लागी सुखद बर्ष सावित भएको छ । बैशाख १० गतेदेखी मंसीर १७ गतेसम्म जति पनि नेपाली चलचित्र प्रदर्शनमा आए र जतिले आफ्नो लगानी उठाए ति भन्दा त धेरै चलचित्र फ्ल्पको सूचीमा नै दर्ता भए । बैशाखदेखी मंसीरसम्ममा झण्डै २ दर्जन बढी नेपाली चलचित्र प्रदर्शनमा आएका थिए तर लगानी भने मात्र मुश्किलले आधा दर्जनले उठाए । यस्तै गएको शुक्रबारबाट प्रदर्शनमा आएको दुई चलचित्र ‘विजुली मेसिन’ र ‘तँ म र ऊ’ ले लगानी सेभको त के कुरा चलचित्र वितरकलाई समेत उल्टै खल्तीको पैसा दिनु पर्ने अबस्था आएको छ । अर्थात बुझ्ने भाषामा यो भनौ कि, यि दुवै चलचित्र बक्सअफिसमा नराम्रैसँग पछारिए । प्रिमियरमा गतिलै प्रतिक्रिया बटुलेको चलचित्र ‘विजुली मेसिन’ ले समेत नेपाली बक्सअफिसमा कमाल देखाउन सकेन् भने अर्को चलचित्र ‘तँ म र ऊ’ को त कुरै नगरौँ । चलचित्र ‘तँ म र ऊ’ छायाँकन बेला प्रेममा परेका नीता ढुंगाना र आमेश भण्डारी स्वयंलाई थिएन कि चलचित्र ‘तँ म र ऊ’ ले कमाल गर्छ भन्ने किनकी पव्लिसिटीमा उनीहरुले गरेको वेवास्ताले नै यो करालाई स्पष्ट पारेको थियो । जुन चलचित्र खेल्दा प्रेममा परेका थिए नीता र आमेश, अहिले उनीहरुको प्रेम खोलाको दुई किनारा भइसकेको छ । त्यसैले पनि उनीहरुलाई चलचित्र ‘तँ म र ऊ’ सफल नभएकोमा सायदै दुख छैन ।
त्यस्तै आवाजबाट विजुली पनि निकाल्न सकिन्छ भन्ने कथा पेश गरेको चलचित्र ‘विजुली मेसिन’ हेर्न पनि दर्शकहरुले खल्तीको पैसा रित्याउन चाहेनन् । पूर्व प्रधानमन्त्री केपी ओलीले हावाबाट विजुली निकाल्छु भन्ने अभिव्यक्ति दिँदा त जनताले पत्याएनन् भने आवाजबाट विजुली निकाल्ने कुरालाई त झन दर्शकहरुले कसरी पो स्वीकार गर्न सक्थे र ! त्यसैले त ‘विजुली मेसिन’ पनि आवाजबाट बत्ति नबाल्दै निभेको छ । तर, नेपाली बक्सअफिसमा ‘तँ म र ऊ’ को भन्दा ‘विजुली मेसिन’ को कलेक्शन केही उच्च छ । बलीउड र हलीउडका कुनै ठूला फिल्महरु रिलिज नभएका कारण ‘विजुली मेसिन’ ले काठमाडौंका केही मल्टिप्लेक्सहरुमा भने सुखद व्यापार गरेको बताइएको छ । तर यो चलचित्रले पनि आफ्नो लगानी सुरक्षित गर्न भने कम्ता गाह्रो छैन । चलचित्र ‘विजुली मेसिन’ मा अभिषेक सुवेदी, जीवन अधिकारी, रेलिजा श्रेष्ठ, वुद्धि तामाङ, आशिष लुइटेल, जीवन भट्टराइ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा नायक राजेश हमालको पनि विशेष भुमिका रहेको छ । यि दुवै चलचित्रले नेपाली बक्सअफिसमा कमजोर व्यापार गर्दा चौथो हप्तामा प्रदर्शन चलचित्र ‘जात्रा’ र दोस्रो हप्तामा प्रदर्शन चलचित्र ‘पुरानो डुङ्गा’ लाई भने गज्जबकै फाइदा भएको छ ।