आजभन्दा १६ बर्षअगाडी निर्माण भएको चलचित्र ‘दर्पण छायाँ’ का प्रत्येक दृश्यहरु तपाईहरुलाई सायद यादै होला । किनकी आज पनि चलचित्र ‘दर्पण छायाँ’ पुरानो भएको छैन नत कसैले ‘दर्पण छायाँ’ का कुनै पात्र नै विर्सिएका छन् । दीलिप रायमाझी, उत्तम प्रधान र नायिका निरुता सिंहले अभिनय गरेको चलचित्र ‘दर्पण छायाँ’ आज हेर्दा पनि जो कोहिँको आँखा रसाउने गर्छ । आज पनि उतिक्कै प्रिय लाग्छ ‘दर्पण छायाँ’ का प्रत्येक दृश्यहरु, प्रत्येक संवादहरु, प्रत्येक गीतहरु । किनकी ‘दर्पण छायाँ’ आफैमा एउटा उत्कृष्ट चलचित्र थियो । यो चलचित्र उत्कृष्ट बन्नका लागि जति कलाकारदेखी प्राविधिकहरुको मेहेनत थियो त्यो भन्दा धेरै निर्देशक तुलसी घिमिरेको पसिना चुहिएको छ । तुलसी घिमिरेको अब्बल निर्देशकीय पक्षले नै ‘दर्पण छायाँ’ आज पनि जीवन्त लाग्छ । ‘दर्पण छायाँ’ निर्देशक गर्नु अघि नै आफुलाई उत्कृष्ट निर्देशकको रुपमा सावित गराएका तुलसी घिमिरेले १६ बर्षपछि सोही चलचित्रको दोस्रो भाग अर्थात ‘दर्पण छायाँ’ मा ‘टू’ थप्दै ‘दर्पण छायाँ २’ तयार पारेका छन् ।
यो चलचित्र फागुन २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । तर, दर्शकहरुका लागि के दुखको कुरा छ भने यो चलचित्र ‘दर्पण छायाँ २’ मा दर्पण छायाँका कुनै पनि कलाकारहरुले अभिनय गरेका छैनन् मात्र निर्देशक दोहोरिएका छन् । दीलिप, उत्तम र निरुताले कार्यव्यस्तताका कारण काम गर्न नसकेपछि निर्देशक तुलसी घिमिरेले नव-कलाकारहरु पुष्पल खड्का, साहारा कार्की र श्रद्धा प्रसाईलाई मुख्य भुमिकामा उभ्याउँदै ‘दर्पण छायाँ २’ तयार पारेका हुन । ‘दर्पण छायाँमा’ दुई नायक र एक नायिका थिए तर ‘दर्पण छाँया २’ मा दुई नायिक छन् र एक नायक । यहाँबाटै थाहा हुन्छ ‘दर्पण छायाँ २’ सिक्वेल होइन । यूवापुस्ताका दर्शकहरुले खोजे जस्तै स्वाद दिन ‘दर्पण छायाँ २’ सफल हुनेमा निर्देशक तुलसी घिमिरे विश्वस्त देखिएका छन् । अधिकांश चलचित्रहरु पारिवारिक कथामा तयार पार्ने तुलसी घिमिरेले ‘दर्पण छायाँ २’ पनि पारिवारिक रहेको बताउँछन् ।
तर, तुलसी घिमिरेका लागि ‘दर्पण छायाँ २’ अहिले अग्नी परिक्षा बनेको छ । किनकी १६ बर्ष अगाडीको चलचित्र बजार र अहिलेको चलचित्र बजारमा आकाश पतालको फरक भइसकेको छ । अहिले नयाँ पुस्ताका दर्शकहरु १६ बर्ष अगाडी बन्ने चलचित्रका कथा हेर्न चाहन्नन् त्यसैले पनि तुलसी घिमिरेलाई नयाँ पुस्ताका दर्शकहरु रिझाउन सजिलो भने हुने छैन । अझ चलचित्रमा नयाँ कलाकार भएका कारण पनि ‘दर्पण छायाँ २’ हेर्न यूवापुस्ताका दर्शकहरु कति रुचाउँछन् भन्ने कुरा पनि महत्वपूर्ण छ । हुनत, पछिल्लो समय नयाँ अनुहारहरुले नै चलचित्र बजार थेगेका कारण ‘दर्पण छाँया २’ लाई गाह्रो नहोला तर दर्शकमाझ परिचित अनुहार नभएका कारणले चाहिँ केही मुश्किल भने हुन सक्छ । अब यो त फागुन २७ गतेपछि नै थाहा हुनेछ ‘दर्पण छायाँ २’ निर्देशक तुलसी घिमिरेका लागि अग्नी परिक्षा बन्ने छ वा छैन ? तर, निर्माणपक्षलाई चलचित्र ‘दर्पण छायाँ २’ को पव्लिसिटीमा कमै दुख गर्दा पनि पुग्ने देखिन्छ किनकी ‘दर्पण छायाँ’ आफैमा एक ब्राण्डेड नाम हो । प्रत्येक नेपालीको मुखमा यसअघि नै यो नाम झुण्डिसकेका कारण निर्माणपक्षलाई पव्लिसिटीमा धेरै दुख गर्नु पर्ने देखिन्न । तर, के ‘दर्पण छायाँ’ कै नाम विकाएर ‘दर्पण छाँया २’ लाई फाइदा पुग्ला ? यो प्रश्न पनि निर्माणपक्षलाई फलामको चिउरा चपाउनुभन्दा कम छैन ।
चलचित्र ‘दर्पण छायाँ २’ को कथा निर्देशक तुलसी घिमिरे आफैले लेखेका हुन । चलचित्रमा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाईका अलवा फिरोज तिमिल्सिना, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल, रोनी केसी लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई सनु कार्की र रवी कार्कीले निर्माण गरेका हुन् । चलचित्रका प्रस्तुतकर्ता भने डाक्टर लोपसाङ लामा हुन् ।