प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डल घोषणा हुनु एक दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले शेखर कोइरालालाई उनले आश गरेको परराष्ट्र मन्त्रालय आफूले दिन नसक्ने जनाउ दिए।
उनले कोइरालालाई भने, ‘अरु कुनै मन्त्रालय रोजेर सरकारमा जानुहोस्।’ कांग्रेस केन्द्रीय सदस्य कोइरालाले परराष्ट्रबाहेक अरु मन्त्रालयमा नजाने जवाफ फर्काए। फलस्वरुप देउवाले पार्टीको तर्फबाट पहिलो चरणमा दुई जनाभन्दा बढीलाई मन्त्रिमण्डलमा सामेल गराउन सकेनन्।
देउवाले कोइरालालाई किन परराष्ट्र मन्त्रालय दिन सकेनन्? अब मन्त्रिमण्डल विस्तार हुँदा कोइरालाले परराष्ट्र पाउन सक्छन्?
माओवादीसँग सत्ता साझेदारीको खेल सुरु भएदेखि नै पार्टीको तर्फबाट सरकारमा आफूलाई सहभागी गराउने भए परराष्ट्र मन्त्रालय दिन कोइरालाले जोड गर्दै आएका थिए। देउवासँग पटक-पटकका भएका अनौपचारिक भेटघाट र छलफलमा यो कुरा स्पष्टसँग राखेका थिए।
कोइरालालाई परराष्ट्रमन्त्री बनाउन देउवा सुरुदेखि नै सकारात्मक थिए। तर, उनले शेखरसँगको कुराकानीमा सुरुदेखि नै केही ठाउँ राख्दै आएका थिए। परराष्ट्रबाहेक अरु मन्त्रालयमा पनि विचार गर्न कोइरालालाई भनेका थिए।
कांग्रेस र माओवादी सहमति अनुसार नयाँ सरकार गठन हुने आधार तयार भएदेखि नै कोइरालामात्र होइन कांग्रेसभित्र पनि उनी परराष्ट्रमन्त्री बन्ने चर्चा सुरु भएको थियो।
आखिर देउवाले किन शेखरलाई पुष्पकमल दाहालले नेतृत्व गरेको सरकार गठन हुँदा नै परराष्टमन्त्रीका रुपमा सामेल गराउन सकेनन् वा चाहेनन् पार्टीभित्र र बाहिर यो चर्चा र अड्कलको विषय बनेको छ।
कतिपयले कोइरालाले यो मन्त्रालय नपाउनुको मूल कारण संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव रहेको लख काटेका छन्। यादव चाँडै नै सरकारमा सहभागी हुने र उनले परराष्ट्र मन्त्रालय मागेकाले कोइरालाले सो मन्त्रालय पाउन नसकेको अनुमान गर्ने कम छैनन्। तर, देउवाका निकट सहयोगी तथा यो सरकार निर्माणमा संलग्न एक नेताले यस्तो अनुमानलाई ठाडै अस्वीकार गरे।
उनले मोर्चा तत्काल सरकारमा सहभागी हुने सम्भावना नरहेको र मोर्चाका नेताहरुसँग मन्त्रालय बाँडफाँडको कुनै छलफल नभएको दाबी गरे।
दोस्रो, भारतका विभिन्न शक्ति केन्द्रसँगको कोइरालाको समीकरणका कारण उनी परराष्ट्रमन्त्री बन्न नसकेको अनुमान गर्ने पनि कम छैनन्। दिल्लीसँग राम्रो सम्बन्ध रहेका नेतामध्ये कोइराला पनि पर्छन्। तर, नेपालबारे चासो राख्ने दिल्ली ‘एउटा’ छैन, धेरै ‘दिल्ली’ छन्। दिल्लीका फरक-फरक शक्तिले नेपालका नेताहरुसँग फरक ढंगले ‘डिल’ गर्छन्। दिल्लीमा कोइरालाको सही समिकरण बन्न नसकेका कारण उनी परराष्ट्रमन्त्री बन्न नसकेको कतिपयको बुझाइ छ।
तर, सभापति देउवानिकट एक नेता माथिका दुबै तर्कमा कुनै तागत नभएको दाबी गर्छन्। उनका अनुसार ‘देउवा समूहभित्रैको समीकरणका कारण’ उनले कोइरालालाई पहिलो चरणमा परराष्ट्रमन्त्री बनाउन नसकेका हुन्। दोस्रो चरणको मन्त्रिमण्डल विस्तारमा कोइराला परराष्ट्रमन्त्री बन्ने सम्भावना अझै जीवित नै रहेको उनले दाबी गरे।
देउवा समूहभित्रै शेखरलाई अहिले परराष्ट्रमन्त्री दिएर बलियो बनाउनु हुन्न भन्ने आवाज दह्रो छ। ‘त्यसले उनलाई भविष्यका लागि पार्टीभित्र बलियो विकल्पका रुपमा उभ्याउँछ जुन देउवा समूहका लागि प्रत्युत्पादक हुन्छ भन्ने बलियो मत छ,’ ती नेताले भने।
देउवा कांग्रेसको आउने महाधिवेशनमा फेरि सभापति लड्ने पक्षमा छन्। आगामी महाधिवेशनमा कोइराला खेमाबाट शशांक सभापति लड्न सक्छन्। त्यसपछिको महाधिवेशनमा भने शेखर सभापतिको बलियो दाबेदार बन्न सक्छन् भन्ने देउवा समूहका अन्य नेताहरुको आँकलन छ।
त्यसकारण पनि उनीहरु कोइराला परिवारको विरासतको दावा गर्ने हैसियत राख्ने शेखरलाई अहिले सरकारमा बलियो गरी स्थापित गर्न चाहँदैनन्। त्यसअलावा परराष्ट्र मन्त्रालयमा देउवाका विश्वासपात्र प्रकाशशरण महतको पनि दाबी छ। साह्रोगाह्रोमा सँगै बसेर साथ दिएका महतको मन दुखाएर शेखरलाई पराष्ट्र मन्त्रालय दिन देउवाले नचाहेको अनुमान लगाउने पनि देउवा समूहभित्र प्रशस्तै छन्।
‘तर, सभापति पछिल्ला दिनहरुमा शेखरलाई जसरी भए पनि सँगै लैजानुपर्ने मनस्थितिमा हुनुहुन्छ,’ देउवानिकट नेताले भने।
पार्टी नेता रामचन्द्र पौडेल पक्षले पार्टी संसदीय कार्यसमितिको गठनदेखि माओवादीसँगको सत्ता गठबन्धन र मन्त्रिमण्डलमा सहभागी हुने करामा आफ्नो पक्षको सम्मानजनक स्थान हुनुपर्ने अडान लिँदै आएको छ।
तर, कोइरालाले पौडेल पक्षको कतिपय कुरामा असहमति जनाउँदै सभापति देउवाका निर्णयमा साथ दिँदै आएका छन्। सरकार गठनमा पनि सभापतिलाई निर्णय लिन दिनुपर्ने र पार्टीभित्र गुटका आधारमा सरकारमा भागबण्डा गर्न नहुने उनको तर्क छ।
शेखरलाई ‘गुन’ लगाउन सके पछि पार्टीभित्र आफूलाई सजिलो हुने देउवाको आँकलन छ। तर, अर्कोतिर शेखरलाई धेरै ‘प्रमोट’ नगर्न आफ्नै विश्वास पात्रहरुको चर्को दबाब पनि उनीमाथि छ।
‘सभापतिले शेखरबारे अन्तिम निर्णय गरिसक्नु भएको छैन,’ देउवानिकट एक नेताले भने, ‘अबको मन्त्रिमण्डल विस्तारमा उहाँ पर्नुभयो भने आश्चर्य नमान्नुहोला।’ -सेतोपाटी