हाल धमाधम छायाँकन भइरहेको चलचित्र ‘हिटलर’ मा नायक सोहित मानन्धर र नायिका समिया बर्तौलाले पहिलो पटक स्क्रिन शेयर गरिरहेका छन् । केही महिनाको खोजीपछि चलचित्र ‘हिटलर’ का लागि नायिकामा फाइनल भएकी समिया बर्तौलासँग हालैमा नायक सोहित पोखराको रारा तालको किनारमा रोमान्स गरिरहेको अबस्थामा भेटिएका थिए । सोहितले समियासँग चलचित्र ‘हिटलर’ को एक गीतमा रोमान्स गरेका हुन । उक्त गीत सुट गर्दाका केही तस्बिरहरु चलचित्रका निर्देशक सौरभ ढकालले ‘सिनेखबर डटकम’ लाई उपलब्ध गराएका छन्, जुन तस्बिरमा सोहित र समिया रोमान्टिक मूडमा देखिएका छन् । तस्बिर हेर्दा यो अनुमान लगाउन सकिन्छ कि चलचित्र प्रेमकथामा आधारित छ ।
अष्टनारायण पिक्चर्सले निर्माण गरेको यो चलचित्रको लगभग ९७ प्रतिशत छायाँकन सकिसकेको छ भने अबको दुई दिनमा चलचित्रको सम्पूर्ण छायाँकन पनि सकिने निर्देशक ढकालले जानकारी दिए । रोमान्टिक कमेडी कथामा बन्न लागेको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले सहकार्य गरेको छ । अहिले ए.आर पौडुवालले चलचित्र खिचिरहेका छन । लोचन घिमिरे चलचित्रका संगीतकार हुन् । किच्चामान चित्रकार चलचित्रका लेखक हुन् । चलचित्रमा कृष्ण के अच्छामीको कोरियोग्राफी रहेको छ । चिनिमाया मानन्धर निर्माता रहेको चलचित्रमा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहेका छन् ।
लोचन घिमिरे र सौरभ ढकाल चलचित्रको सह–निर्माता हुन् । चलचित्रमा सोहित र समियाका अलवा मेनुका प्रधान, अर्जुन गुरुङ, दिवश धिताल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । निर्माण पक्षले दिएको जानकारी अनुसार, चलचित्र ‘हिटलर’ अर्को बर्षको जेठ १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ ।