मानिस सफल हुनका लागि धेरै संधर्ष गर्नु पर्छ । हरेक ५ मिनेटको सफलताको पछाडी १२ घण्टाको कडा मेहेनत हुने गर्छ । सौभाग्य उसैले प्राप्त गर्छ जसले प्राप्त उपलब्धिलाई समाल्न सक्छ । कतिलाई भने जिन्दगीभर सफलताले कहिले छोड्दैन । अझ चलचित्र क्षेत्रमा हेर्ने हो भने कुनै कलाकार सफल भइरह्यो भने उसलाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरुको ठूलै दौडधुप हुन्छ । त्यसको उदारहण हामीले नायक अनमोल केसीको दिँदा मात्र पनि पुग्छ । अहिले उनलाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरु ३० लाखभन्दा बढी पारिश्रमिक दिन पनि तयार छन् तर लिन मान्दैनन् अनमोल । उनको क्रेज र उनलाई सही मार्गनिर्देशन गर्ने पिता भुवन केसी छन् । त्यसैले कोही कसैले अनमोललाई आफ्नो चलचित्रमा लिने न आँट गर्छन न अनमोल नै खेल्न चाहन्छन् ।
अहिले नेपाली चलचित्र बजारमा एक यस्तै विकाऊ नायक बनेका छन् ‘प्रेमगीत’ हिरो प्रदीप खड्का । गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत’ ले उनलाई नसोचेकै सफलता दिलाइदियो । हुनत, प्रदीपको यो पहिलो चलचित्र थिइन, उनले यसअघि चलचित्र ‘इस्केप’ मा काम गरेका थिए । तर, यो चलचित्र नेपाली बक्सअफिसमा फल्प हुँदा प्रदीपलार्ई न दर्शकले चिने न निर्माताले नै । तर, पनि लुक्स र अभिनयप्रतिको प्यासनले ‘प्रेमगीत’ निर्माता सन्तोष सेनको रोजाइमा प्रदीप नै परे । नभन्दै दुवैलाई फाइदा भयो । व्यावसायिक रूपमा ‘प्रेमगीत’ ले ठूलै छाल मार्यो । अनि हिट हिरो बन्ने प्रदीपको सपना पनि पूरा भयो । ‘प्रेमगीत’ सफलभएपछि अनमोललाई आफ्नो चलचित्रमा लिनका लागि जसरी निर्माताहरु क्रेजी हुन्थे अहिले प्रदीपमा पनि त्यस्तै देखिएको छ ।
केही महिना अगाडी निर्देशक तुलसी घिमिरेले ‘दर्पणछायाँ–२’ का लागि प्रदीपलाई अफर गरेका थिए । त्यति अनुभवी निर्देशकको आँखामा पर्दा उनी निकै फुरुंग थिए तर उनले ‘दर्पणछायाँ–२’ मा काम गरेनन् । त्यति मात्र कहाँ होर उनलाई आफ्नो चलचित्रमा लिनका लागि नायिका झरना थापाले पनि मरिहत्ते गरेकी थिइन । तर, आफ्नो क्रेज र आफ्ना फ्यानहरुको आश पूरा गर्नका लागि प्रदीप चुजी बने । प्रदीपले झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘ए मेरो हजुर–२’ बाट आएको प्रस्तावलाई पनि अस्वीकार गरे ।यति मात्र होइन ‘प्रेमगीत’ सफलभएपछि प्रदीपमाथी करोडमाथीको लगानी गर्न तयार निर्माताहरु पनि थिए तर उनले सबै चलचित्रलार्ई अस्वीकार गरे । किन अस्वीकार गरे त प्रदीपले यस्ता चलचित्रका अफरहरु ? किनकी उनी ‘प्रेमगीत’ को सिक्वेलमा काम गर्ने पक्का भइसकेको थियो । सायद प्रदीपको निर्माता सन्तोष सेनसँग यो सम्झौता भइसकेको हुन सक्छ कि ‘प्रेमगीत २’ रिलिज नभएसम्म अरु चलचित्र काम नगर्ने, त्यसैले हुन सक्छ प्रदीपले अरु कनै पनि चलचित्रमा हात हालेनन् । उनलाई सायद यो पनि लागेको हुन सक्छ अब आफ्नो करियर ‘प्रेमगीत’ ले नै बनाउँछ । एउटै ब्यानरमा सिमित भइरहनु र एकै नामको चलचित्रमा मात्रै अल्झिरहनु प्रदीपका लागि कतिको फलदायी हुनेछ । त्यो त समयले लेखाजोखा गर्ने नै छ । तर, प्रशंसकहरुले अन्य चलचित्रमा पनि खोजीरहेको अबस्थालाई बेलैमा प्रदीपले नबुझ्ने हो भने एउटा हिन्दी कहावत छ ‘समयपर समझ नहीँ आती और समझ आनेपर समय निकल जाता हैं’ यस्तै परिस्थितिको सृजना नहोला भन्न सकिन्न ।
‘प्रेमगीत’ मा पुजा शर्मासँग स्क्रिन शेयर गरेका प्रदीप ‘प्रेमगीत २’ मा भने नव-नायिका अश्लेषा ठकुरीसँग रोमान्स गरिरहेका छन् । चलचित्र ‘प्रेमगीत २’ लाई रामशरण पाठकले निर्देशन गर्दैछन् । हाल छायाँकन भइरहेको यो चलचित्र अर्को बर्षको सुरुवातमा प्रदर्शन हुनेछ ।