बैशाख १ गते ठूला भनिएका ४ नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउने कुराले नेपाली सिनेवृत नै तरङ्गित भएको थियो । निखिल उप्रेती स्टारर चलचित्र ‘राधे’, सौगात मल्ल अभिनित चलचित्र ‘लालपूर्जा’, दयाहाङ राई अभिनित चलचित्र ‘घामपानी’ र स्वस्तिमा खड्का र सुरज पाण्डे अभिनित चलचित्र ‘लभ लभ लभ’ बैशाख १ गते प्रदर्शनमा आउने पक्का भएपनि ‘लालपूर्जा’ को रिलिज मिति भने पोष्टपोन्ड भएको छ । खबरका अनुसार, ‘लालपूर्जा’ निर्माता टेकेन खड्का र ‘घामपानी’ निर्माता रामबाबु गुरुङबीच ‘लालपूर्जा’ लाई बैशाख २८ गते बिहिबार रिलिज गर्ने समझदारी भएको छ ।
टेकेन खड्काले निर्माण गर्ने नयाँ फिल्म ‘सुपर झोले’ लाई रामबाबु गुरुङले नै निर्देशन गर्ने भएका कारण उनीहरुबीच आफ्ना फिल्म अघिपछि ल्याउने समझदारी भएको हो । सौगात मल्ल स्टारर चलचित्र लालपूर्जाले आफ्नो रिलिज मिति पोष्टपोन्ड गरेपनि बैशाख १ गते ‘राधे’, ‘घामपानी’ र ‘लभ लभ लभ’ एकसाथ प्रदर्शनमा आउनेछन् । अब हेर्न त यो बाँकी रहन्छ कि अन्य तीन फिल्मका निर्माताले रिलिज मिति पोष्टपोन्ड गर्छन वा गर्दैनन् ? यदी यसो भएन् भने बैशाख १ गते यी तीन फिल्मको भिडन्त भने हेर्न लायककै हुनेछ ।