भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शकुन्तला’ को नयाँ गीत सार्वजनिक भएको छ । नायक राजेश हमाललाई महिलाको भेषमा प्रस्तुत गरिएको चलचित्र ‘शकुन्तला’ को सार्वजनिक ‘यो मुटु भन्दा’ बोलको गीतमा आकांक्षा बस्याल र यूवराज चौलागाइँको आवाज रहेको छ भने दयाराम पाण्डेको शब्द र कृष्ण वि.क.को संगीत रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार किशोर खतिवडा र नायिका स्मृति श्रेष्ठ देखिएका छन् । किशोर र स्मृति गीतमा सँगै जिउँने बाँच्नेको कुरा गरिरहेको देख्न सकिन्छ । राजेश हमाल, किशोर खतिवडा, रविन्द्र बस्नेत, स्मृति श्रेष्ठ, अनु शाह, रवि गिरी लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । महेश्वर खत्री र श्रीप्सा खत्रीले निर्माण गरेको यो चलचित्रलाई दनेश श्रेष्ठले निर्देशन गरेका हुन् । माइकलको कोरियोग्राफी रहेको चलचित्रमा अर्जुन पोख्रेलको संगीत, अष्ट महर्जनको द्धन्द्ध, रविन घर्ती मगरको सम्पादन र राजेश घमिरेको छायाँकन रहेको छ ।