नेपाली चलचित्रवृत्तमा भर्सटायल अभिनेता मानिन्छन्– सौगात मल्ल । ब्लक बस्टर चलचित्र ‘लुट’ मा ‘हाकु काले’ का रूपमा गरेको उनको जीवन्त अभिनयले युवापुस्तामा राम्रै चर्चा कमायो । त्यसपछिका चलचित्रमा पनि फरक–फरक चरित्रमा देखिएका मल्लले ‘कबड्डी–कबड्डी’ बाट थप लोकप्रिय भए । रंगमञ्चबाट आफ्नो कलाकारिता शुभारम्भ गरेका सौगातलाई नेपाली सिनेवृतमा सफल नायकको रुपमा गनिएता पनि उनी अभिनित एकाध चलचित्र बाहेक अन्य धेरै जसो त फल्पकै सूचीमा दर्ता छन् । हरेक चलचित्रमा फरक-फरक गेटअपमा देखिने र दर्शकलाई फरक स्वादका चलचित्र दिन माहिर मानिने सौगातको यस बर्ष चलचित्र ‘लुकामारी’ प्रदर्शनमा आएको थियो तर यो चलचित्रले कमाल गर्न सकेन । लुकामारीमा उनको फरक गेटअपलाई लिएर निकै चर्चा भएको थियो तर जुन अनुसारको चर्चा उनको गेटअपलाई लिएर भएको थियो त्यो चचाले हलसम्म दर्शक तान्न भने असफल रह्यो । तर, उनको अभिनयलाई भने दर्शकहरुले खुबै रुचाए । उनै नायक सौगात मल्ल अभिनित अर्को चलचित्र ‘शब्द’ यही पुष २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ‘शब्द’ मा गाउँले यूवकको भूमिका निर्वाहा गरेका सौगातका लागि यो चलचित्र सफल भएको खण्डमा केही राहत पुग्ने देखिन्छ । किनकी यस बर्ष उनले आफु अभिनित चलचित्रबाट सफलताको स्वाद चाख्न पाएका छैनन् । चलचित्र ‘शब्द’ मा सौगातले पहिलो पटक नव-नायिका कमली वाइवासँग स्क्रिन शेयर गरेका छन् । हाल ‘बमकाजी’ चलचित्रको छायाँकनमा व्यस्त भएका कारण सौगातले चलचित्र ‘शब्द’ को प्रचारमा भने खासै समय छुट्याउन पाएका छैनन् तर उनी चाँडै नायिका कमली वाइवालाई लिएर अष्ट्रेलियामा हुन लागेको चलचित्र ‘शब्द’ को प्रिमियरमा सहभागी हुँदैछन् । चलचित्रमा सौगात र कमलीका अलवा ए गुरुङ, अनुभव रेग्मी, ओशिन भट्टराइ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रले प्रेमको शब्द खोजेको छ । मुख्य कलाकार कमली र उनको जीवनमा आउने विभिन्न यूवाहरुको कथामा यो चलचित्र बुनिएको छ । छिरिङ दोर्जे लामाको लगानी रहेको यो चलचित्रलाई ओम ओम श्री वज्रयान पिक्चर्स प्रालीको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा राजनराज सिवाकोटी र गैरे सुरेशको संगीत छ । चलचित्रलाई सन्तोष सिवाकोटीले निर्देशन गरेका हुन् ।